बर्दिया, असार ३१ (फरकसमाचार) / बर्दिया अस्पताल सामाजिक परिक्षणमा अस्पतालले दिने सेवा सन्तोषजनक भएको पाईएको छ । सामाजिक परिक्षणको आम भेलाले बर्दिया अस्पतालको सेवा सुबिधा उत्कृष्ट भएको निष्कर्ष निकालेको छ । बर्दिया अस्पतालमा बिहिबार आयोजित सामाजिक परीक्षणको आम भेलामा सहभागीले पछिल्लो समय अस्पतालले दिने चिकित्सकिय सेवा अब्बल रहेको बताएका छन् । बर्दिया अस्पतालले राम्रो सेवा दिएर जिल्लावासी समक्ष विश्वासिलो बनेको नागरिक समाज संजालकी संयोजक हिमा सुनारले बताईन् ।
‘अस्पताल विकास समिति र सम्पुर्ण स्वास्थ्यकर्मी टिमको मेहनतले सबैले विश्वास गर्ने भएका छन्’ संयोजक सुनारले भनिन्,‘सिमित जनशक्तिको बाबजुद पनि राम्रो सेवा दिएर पहिचान बनाउन सफल भएको छ ।’ लगातार दुई बर्ष बर्दिया जिल्ला अस्पताल लुम्बिनी प्रदेशमा उत्कृष्ट भएको उल्लेख गर्दै अस्पतालका मेसु सुभाष पाण्डे लगायत टिमलाई सह्रानिय काम गरेको भन्दै धन्यबाद टक्राईन् । अधिकांश वक्ताले अस्पतालको सेवा सन्तोषजनक रहेको बताएका छन् ।
सिमिति स्रोत साधन विच बर्दिया अस्पतालले सेवाग्राही मुखी चिकित्सकिय सेवाले विपन्न बर्गको मन जित्न सफल भएको राधाकृष्ण जन सेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बताए । ‘अथक मेहनत प्रयासले बर्दिया अस्पताल दिने सेवा जनमुखी भएको छ’उनले भने, ‘सबै तहतप्काले अस्पतालको सेवा जनमुखी बनाउँन सकारात्मक भुमिका अपरिहार्य छ ।’
कार्यक्रममा बर्दिया मेडिकल ईन्सिच्युटका अध्यक्ष सुधाकर मिश्राले अस्पतालबाट जनशक्ति उत्पादन गर्न बताए । ‘नितिगत कुरा टिप्पणी गर्दै अस्पताललाई सय शैयाको बनाएर नर्सिङ पढाउँन पर्ने आवश्यक्ता छ, ’उनले भने । कार्यक्रममा समय व्यस्तताको विच कार्यक्रममा बोलेका जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर विष्टले अस्पतालको हितको लागि हातेमालो गर्ने बताएका थिए ।
सामाजिक परिक्षणको आम भेलाले बर्दिया अस्पताल सिमित स्रोत साधन र जनशक्तिका बाबजुद सन्तोषजनक सेवा प्रर्वाह गरेको अधिकांश सहभागिले सुनाएका थिए । कार्यक्रमको विस्तृत सामाजिक परीक्षणको कार्यपत्रको प्रस्तुति सुनौलो महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकि अध्यक्ष ईन्दीरा सुबेदीले गरेकि थिईन । अस्पतालको वस्तुस्थिती र अस्पतालले दिने सेवा सुविधाको बारेमा बर्दिया अस्पतालका मेसु डाक्टर सुभाष पाण्डेले जानकारी गराएका थिए ।
कार्यक्रमको अन्तमा अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमले बिशेषज्ञ चिकित्सक ल्याउँने प्रयास असफल भएको खुलाएका थिए । ‘प्रबिधि भित्राउँन सजिलो भएपनि दक्ष जनशक्ति वा बिशेषज्ञ चिकित्सक भित्राउँन सहज नभएको बुझे’ उनले भने ‘ हामी प्रयासरत छौ,सफल हुन्छौ भन्नेमा बिश्वस्त छौ ।’ अस्पताल दिने सेवा अझै पुरिस्कृत गर्दै लैजाने बिषयमा गौतमले पटक पटक जोड दिए ।