पुर्णखोप सुनिश्चित जिल्ला घोषणा
शनिबार, असार ३२, २०७९ मा प्रकाशित

बर्दिया,असार ३२ (फरकसमाचार) / बालबालिकाले पाउनु पर्ने सबै खोप लगाई पुर्णखोप सुनिश्चि भएको जिल्ला घोषणा गरिएको छ । पुर्णखोप सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिम साउन २४ गतेभित्र जिल्लाका १६ महिना देखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सबै खोप लगाई पुर्णखोप सुनिश्चित भएको जिल्ला शुक्रबार घोषणा गरिएको हो ।

स्थानीय तह र सरोकारवालाहरुको अपनत्व सहभागितामा स्थानीय स्रोतको अधिकतम परिचालन गरी पुर्णखोप निर्देशिका बमोजिम पुर्णखोप पाएको हरेक वर्ष यकिन गरिने । पुर्णखोप सुनिश्चि वडा, पुर्णखोप सुनिश्चित स्थानीय तहको साथै पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गरी खोपबाट बचाउन सकिने रोग लाग्ने दर, अपांङता दर र मृत्युदरमा कमी ल्याउने कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य कुल प्रसाद पोखरेलले पानसमा दिप प्रज्वलन गरी पुर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका थिए । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पुर्णखोप सुनिश्चित बर्दिया जिल्ला हाम्रो प्रतिबद्धता’ ब्यानर वाचन गरी प्रदेश सभा सदस्या पोखरेलले पुर्णखोप सुनिश्चि भएको जिल्ला घोषणा गरेका थिए ।

मानिस स्वास्थ्य रहे विकासमा टेवा पुग्ने लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर थारुले बताए । ‘मानिस स्वास्थ्य छ भने उसले राम्रा विकासका काम गर्छ’ प्रदेश सभा सदस्य थारुले भने,‘ जसले गर्दा प्रदेशको विकास निर्माणलगायत अन्य क्षेत्रमा सहयोग पुग्छ ।’ नवजात शिशुले पाउनु पर्ने स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउनु पर्छ । नवजात शिशुले पाउनु पर्ने सबै खोपहरु समयमा पायो भने उसलाई रोग व्यधाले नच्याप्ने स्वास्थ्य रहने तर्क दिए । अस्पताल, स्वास्थ्य चौकी जहाँबाट भएपनि नवजात शिशुले पाउने खोप सजिलै दिनुपर्ने प्रदेश सभा सदस्य थारुले सुनाए । यस्ता स्वास्थ्य सेवा उपलब्ध गराउन सबैले सकारात्मक भुमिका खेल्नु पर्ने उनले भनाई राखे । सबैको प्रयासले जिल्लालाई पुर्णखोप सुनिश्चित भएको जिल्ला घोषणा हुँदा खुसी व्यक्त गरे । दिन रात अहोरात्र सेवामा खटिने सम्पुर्ण स्वास्थ्यकर्मीलाई प्रदेश सभा सदस्य थारुले धन्यवादसमेत दिए ।

सबैको साथ र सहयोगमा पुर्णखोप सुनिश्चित भएको जिल्ला घोषणा हुँदा आफु अत्यन्तै खुसी भएको लुम्बिनी प्रदेश सभा सदस्य कविराम थारुले बताए । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा विषेश ध्यान दिन आग्रह समेत गरे ।
पुर्णखोप सुनिश्चित भएको जिल्ला, पुर्ण साक्षरता र खुल्ला दिसा पिसाब मुक्त जिल्ला घोषणा हुँदा सामाजिक क्षेत्रमा हामी माथि उठेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।

गत वर्षसम्म जिल्लाको आठ वटै स्थानीय तह पुर्णखोप घोषणा भएपछि यस वर्ष पुर्णखोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । यस अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद टक्रयाएँ ।

जिल्ला पुर्णखोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टको अध्यक्षतामा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । आठ वटै स्थानीय तहका उत्कृष्ट एक स्वयसेविका र उत्कृष्ट एक खोपकर्ता सम्मानित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय