राम प्रसाद चौहान
बर्दिया, साउन १ / लामो समयदेखि बाँझो रहेको क्षेत्रमा डिभिजन वन कार्यालयले बृक्षारोपण गरेको छ । वन कार्यालयले बाँझो जग्गाको सदुपयोग गरी लुम्बिनी प्रदेश कै ठुलो क्षेत्रमा बृक्षारोपण गरेको हो । गुलरिया नगरपालिका–२ संगमबस्ती स्थित बेलाफाँटामा वन कार्यालयले बृक्षारोपण गरेको छ । संरक्षणको अभावमा लामो समय देखि झाडी बुट्यान क्षेत्रको रुपमा रहेको खाली ठाउँमा समुदायको समन्वयमा डिभिजन वन कार्यालयले लोपउन्मुख प्रजातिलगायत अन्य जातको विरुवा बृक्षारोपण गरेको छ ।
खाली रहेको २५.२१ हेक्टर क्षेत्रमा तारवार गरी अघिल्लो साता देखि बृक्षारोपण गर्न सुरु गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए । ‘यो क्षेत्रमा ४४ हजार विरुवा बृक्षारोपण गर्ने छौं’ सहायक वन अधिकृत शर्माले भने,‘अधिकांश भागमा विरुवा लगाई सकेका छौं ।’ बाँकी रहेको भागमा एक दुई दिनमै बृक्षारोण गरिसक्ने सुनाए । जामुन, अर्जुन, शित्तलचिनी, खैर, सिसौं, शिरिश र मौहुवालगायतका विरुवा लगाएको सहायक वन अधिकृतले जानकारी दिए । यस क्षेत्रलाई संरक्षण गर्न सके संगमबस्तीका ७ सय उपभोक्ता यस वनबाट लाभाम्वित हुने सहायक वन अधिकृत शर्माले विश्वास ब्यक्त गरे ।
खाली रहेको क्षेत्रलाई वनले सदुपयोग गरी वृक्षारोपण गरेको कार्य सह्रानिय रहेको संगमबस्तीका बिपेन्द्र बहादुर बस्नेतले बताए । ‘हाम्रो समुदाय नजिक वन नरहेकोले हामीलाई धेरै समस्या छ’ स्थानीय बस्नेतले भने,‘वनले गरेको वृक्षारोपणबाट हाम्रो समुदाय प्रत्यक्ष रुपमा लाभाम्वित हुन्छ ।’ जसले गर्दा यस क्षेत्रको संरक्षण गर्नु हाम्रो दायित्व रहेको बस्नेतले भनाई राखे ।
आफ्नै लगानीमा कार्यालयको परिसर भित्र उत्पादन गरेको विभिन्न जातका फलफुल र विरुवाको बेर्ना निशुल्क रुपमा धमाधम डिभिजन वन कार्यालयले वितरण गरिरहेको डिभिजन वन कार्यालयका प्रमुख प्रबीन बिडारीले बताए । ‘खाली ठाउँको सदुपयोग गर्न बिरुवा रोप्नु पर्छ’ प्रमुख बिडारीले भने,‘बिरुवा रोप्न इच्छा भएकालाई हामीले सजिलै निशुल्क रुपमा विभिन्न किसिमका बिरुवाका बेर्ना उपलब्ध गराई रहेका छौं ।’
त्यसैगरी आर्थिक वष ०७८/०७९ मा डिभिजन वन कार्यालयले गरेको कामको संचारकर्मी र सरोकारवालालाई शनिबार अनुगमन गराएको छ ।
मानव र वन्यजन्तुको द्वन्द्व न्युनिकरण गर्न डिभिजन वन कार्यालयले हात्ती प्रभावित मधुवन नगरपालिका–१ छोटकी टंडुवा स्थित मचान निर्माण गरेको छ । भलुनी भटुवा सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा वन कार्यालयको ५ लाखको लागतमा मचान निर्माणको कार्य भईरहेको सहायक वन अधिकृत शर्माले बताए । साउन र भदौमा हात्ताबाट यस क्षेत्रका स्थानीय बढी प्रभावित हन्छन । ‘निर्माणधिन मचानमा स्थानीय आफु सुरक्षित रही हात्ती निगरानी गर्न सक्छन्’ सहायक वन अधिकृतले भने,‘मचानको मद्दतले हात्तीको निगरानी गरी सजिलै धपाउन सकिन्छ ।’
डिभिजन वन कार्यालयको अनुदानमा मधुवन नगरपालिका–४ स्थित रहेको शिव बचत तथा ऋण सहकारी माफर्त जडिबुटी खेती बिस्तार, भण्डारण, प्रशोधन केन्द्रको अनुगमन गरिएको छ । वन कार्यालयको अनुदानले सहकारीलाई धेरै सहज भएको शिव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम बहादुर थापाले बताए । ‘वनको तीन चरणको अनुदानले हामीलाई धेरै सहज भएको छ’ अध्यक्ष थापाले भने,‘पहिलो चरणमा रु २१ लाख, दोस्रो चरणमा रु १३ लाख र तेस्रो चरणमा रु ७ लाख अनुदान आएको छ ।’ वनको अनुदान रकमले जडिबुटी खेती बिस्तार, भण्डारण र प्रशोधनमा गर्नमा सहयोग पुगेको उनले सुनाए ।
वन वन्यजन्तु जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वनले २० लाखको लागतमा बारबर्दिया नगरपालिका–८ औरी थानफेनामा ८ सय ५० मिटर जेआई मेस वायर फेन्स लगाएको, खाता सामुदायिक वन समन्वय समितिको परिसरमा स्थापना गरिएको डिसप्ले बोर्ड, मधुवन नगरपालिका–२ स्थित सोनाहा स्थित सोनाहाफाँटा सामुदायिक वन र मधुवन नगरपालिका–३ खाता स्थित गौरी महिला सामुदायिक वन लगाएको जेआई मेस वायरका साथै ईलेक्ट्रिक फेन्सको संचारकर्मी र सरोकारवालालाई वन कार्यालयले अनुगमन गराएको छ ।
मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापनको लागि वनले गरेको काम प्रसंशानीय रहेको जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टले बताए । ‘वन्यजन्तु बस्ती पस्न नदिन वनले तारवार गरेकै छ’ प्रमुख बिष्टले भने,‘साना वन्यजन्तु तारवार नाघ्ना सक्दैनन ।’ वनले लगाएको तारवारलाई स्थानीयले संरक्षण गर्नु पर्ने सुझाएका थिए ।
अनुगमन कै क्रममा मधुवन नगरपालिका–२ चमेली गौरी सामुदायिक वनमा डिभिजन वन कार्यालयले लगाएको तारवारको स्थानीयले संरक्षण नगरेको भेटियो । वनले तारवार गरेको क्षेत्रभित्र स्थानीयले बाख्रा, भैंसी बाँध्ने गरेको पाईयो । बन्यजन्तुबाट मानववस्ती सुरक्षित राख्ने उदेश्यले वनमा लगाईएको तारवारलाई स्थानीयले संरक्षण गरे बन्यजन्तु वस्तीमा पस्ने जोखिम कम हुने डिभिजन वन कार्यालयका प्रमुख बिडारीले बताए । बन्यजन्तुबाट सुरक्षित हुन वन क्षेत्रमा लगाईएको तारवारलाई स्थानीयले संरक्षण गर्नु पर्ने प्रमुख बिडारीले आग्रहसमेत गरे ।