राम प्रसाद चौहान
बर्दिया, साउन ४ / बर्दिया अस्पतालको फिजियोथेरापी सेवा प्रति ढाड, जोर्नी, कम्मरलगायत दुखाईका बिरामीको आकर्षण बढ्दै गएको छ । शरीरमा दुखाई सम्बन्धि बल्झेको समस्या फिजियोथेरापी सेवाले एक साता मै दुखाई कम गर्दा बिरामीको आकर्षण बढ्दै गएको हो । धेरै ठाउँमा उपचार गराउँदा पनि निको नभएको दुखाई सम्बन्धि समस्या अस्पतालको फिजियोथेरापी सेवाले निको भएका छन् । अस्पतालमा फिजियोथेरापी सेवा नहुँदा ढाड जोर्नीलगायत अन्य दुखाई सम्बन्धी बिरामी अन्यत्र जिल्लामा उपचार गराउन बाध्य थिए ।
अन्यत्र फिजियोथेरापी गराउन जाँदा बढी रकम व्यहोर्नु पर्ने बाध्यता रहेको थियो । बर्दिया अस्पतालमा फिजियोथेरापी सेवाको सुरुवात भएदेखि दुखाई सम्बन्धि बिरामीले आफ्नै ठाउँमा सेवा पाईरहेका छन् । पछिल्लो समय फिजियोथेरापी सेवा प्रति बिरामीको आकर्षण बढ्दै गएको छ ।
कम्मर धेरै दुखेर फिजियोथेरापी गर्न आएको पर्सियाकी पुनम चौधरीले बताईन् । फिजियोथेरापी गरेको दुई तिन दिनमै दुखाई कम भएको अनुभुति उनले सुनाईन ।
ढाड, जोर्नी, हात, खुट्टा, घुँडा दुख्ने र नशा च्यापिएर दुखाई खप्न नसकेका बिरामी सेवा लिन आएको बर्दिया अस्पतालका फिजियोथेरापिष्ट युवराज अधिकारीले बताए । ‘आईया आईया भन्दै आएका बिरामी फिजियोथेरापीले पुर्ण रुपले निको भएका छन्’ फिजियोथेरापिष्ट अधिकारीले भने, ‘फिजियोथेरापी सेवाले बिरामीको समस्या समाधान भएरै बिरामीको आकर्षण बन्दै गएको छ ।’ पछिल्लो समय दिनहुँ ३० जना बढी बिरामीले अस्पतालमा फिजियोथेरापी सेवा लिन आएका छन् । यो हाम्रो लागि सुखद हो । बिरामले आफ्नै ठाउँमा सेवा लिन पाएका छन् ।
बिरामीको दुःखाई कम गर्न, व्यक्तिलाई क्रियाशील बनाउन, नचल्ने जोर्नीलाई चालमा ल्याउन, रोगको उपचारपछि अंगलाई पुनः सक्रिय बनाउन फिजियोथेरापीले महत्वपुर्ण काम गर्छ । फिजियोथेरापी सेवा जुनसुकै उमेर समुहका व्यक्तिले लिन आएको अस्पतालका फिजियोथेरापिष्ट अधिकारीले जानकारी दिए ।
दुई वर्ष अघि सिमित स्रोत साधन बिच सुरुवात गरिएको फिजियोथेरापी सेवाले बिरामीलाई सन्तोषजनक सेवा दिईरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुभाष पाण्डेयले बताए । ‘प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र हेन्डीक्याप ईन्टरनेशनलको सहयोगमा अस्पतालमा फिजियोथेरापी सेवा सुरु हो’ मेडिकल सुपरिटेण्डेण्ट डा. पाण्डेयले भने,‘एक जना फिजियोथेरापिष्टको मात्र दरबन्दी छ ।’ एक जना सहायक गरी दुई जनाको टिमले फिजियोथेरापी सेवा दिईराख्नु भएको छ । यो जनशक्ति प्रयाप्त होइन । कहिले काही बिदा जानु पर्दा समस्या हुने गरेको छ । सम्बन्धित निकायले एक जना फिजियोथेरापिष्ट जनशक्ति उपलब्ध गराए कुनै समस्या नहुने मेडिकल सुपरिटेण्डेण्ट डा. पाण्डेयले जानकारी दिए ।
संघिय स्वास्थ्य विभाग, बर्दिया अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चिल्ड हेल्थ बिच तीन वर्ष सहकार्य गर्ने सोमबार सम्झौता भएको अस्पतालका सुपरिटेण्डेण्ट डा. पाण्डेयले बताए । विषेशगरी चार वटा रोग लाग्न नदिनको लागि जनचेतना फैलाउने उदेश्यले सम्झौता गरिएको छ । मुटु, सुगर, दम र क्यान्सर रोग लाग्न नदिन व्यापक जनचेतनामुलक कार्य गरिने सुपरिटेण्डेण्ट डा. पाण्डेयले जानकारी दिए ।