बर्खामा निकुञ्जको जंगल सफारी बन्द
मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित

बर्दिया, साउन १० (फरकसमाचार) / बर्खाको समयमा बर्दिया राष्ट्रिय निकुञ्जले केही समयको लागि जंगल सफारी बन्द गरेको छ । वर्षायाममा निकुञ्जको बाटो अवरुद्ध भई सवारी साधन आवागमनमा सास्ती व्यहोर्नु पर्ने कारणले निकुञ्ज प्रशासनले जंगल सफारी बन्द गरेको हो ।

निकुञ्ज प्रशासनले सोमबार देखि अर्को सुचना प्रकाशित नभएसम्मका लागि निकुञ्जको जंगल सफारी बन्द गरेको जनाएको छ । बर्खायाममा निकुञ्ज भित्र हिलो पानीले बाटो अवरुद्ध हुने बढी सम्भावना हुन्छ ।

बर्खाको समयमा निकुञ्जभित्रका बाटोमा रुख विरुवा ढल्ने र स–साना खोलामा पानी जमेर बाटो अवरुद्ध भई सवारी साधन आवत जावतमा कठिनाई हुने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले बताए । ‘निकुञ्जले दिने अन्य सेवा यथावत छ’ उनले भने, ‘जंगल ड्राईभ केहि दिनका लागि निकुञ्जले अनुमति दिदैन ।’ हात्ती सफारी, जंगल वाकको अनुमति दिईएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । पछिल्लो समय जंगलको राजा (पाटे बाघ) को हिँडडुल बढेपछि पर्यटकको संख्या बढेको छ ।

नदी तटिय क्षेत्र, बाघका बासस्थान सम्म घुम्न पुग्ने पर्यटकले निकुञ्जमा सजिलै बाघ देख्ने गरेको अनुभव पर्यटकले साट्ने गरेका छन् । बाघ जस्त गरी एक सिंगे गैडा, हात्तीका बथान र मृग प्रजातीका जनावर निकुञ्ज सजिलै देख्न थालेपछि निकुञ्जको पर्यटकको आर्कषण बढिरहेको श्रेष्ठ बताउँछन् । बर्खाको समयमा गाडी फस्ने र बाटो अवरुद्ध हुँदा पर्यटक निकुञ्ज घुम्न कठिनाई हुने कारणलाई निकुञ्ज प्रशासनले मध्यनजर गरी जंगल सफारी बन्द गरेको छ ।

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बिन्दु बनेको छ । निकुञ्ज घुम्न आएका पाँहुनाहरुको मुख्य उदेश्य बाघ हेर्न हुन्छ । निकुञ्जको जंगल सफारी गर्न आएका अधिकांश पाँहुनाहरुको बाघ हेर्ने उदेश्य पुरा भएको नेचर गाईड अनुराम चौधरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय