बर्दिया, साउन १५ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–८ कुसुम्बाघाट जंगल स्थितबाट शनिबार दुई जनालाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
मधुवन नगरपालिका–८ गाउँ नम्बर ६ का दोर्णराज गुरुङ र बेद प्रसाद जैसी पक्राउ परेका छन् । प्रहरीले दुवैको साथबाट ६ सय ४० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला पारेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा गुरुङको घर कोठामा खानतलासी गर्दा घरको भित्तामा लुकाई छिपाई राखेको २५ वटा पुडियामा थप ४ सय २० मिलीग्राम लागु औषध ब्राउन सुगर बरामद भएको छ ।
लागु औषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जना लागुऔषधका कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।