तीन दिनमा लागु औषधसहित ५ पक्राउ
सोमबार, साउन ३०, २०७९ मा प्रकाशित

बर्दिया, साउन ३० (फरकसमाचार) / तीन दिनमा लागु औषध ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन दिन नबित्दै प्रहरीले ५ जनालाई लागु औषधसहित पक्राउ गर्न सफल भएको हो । गत बिहीबार देखि शनिबारसम्म ५ जनालाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागु औषधका सेवनकर्ता तथा कारोबारी छिमेकी जिल्लाबाट आउँने गरेको पुष्टि भएको छ । गत बिहीबार बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित दशगजा नजिकबाट प्रहरीले दुई जना बाँकेका व्यक्तिहरुलाई लागु औषधसहित पक्राउ गरेको छ । प्रहरीले दुवै जनाको साथबाट १ ग्राम १ सय ८० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला बाँके खजुरा गाउँपालिका–२ का नबिन थापा र सन्देश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै जना नेपाल भारतको दशगजा नजिक शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध फेला परेको जनाएको छ ।

त्यसैगरी शनिबार मधुवन नगरपालिका–७ स्थितबाट ३ जनालाई प्रहरीले लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । मधुवन नगरपालिका–७ का पवन महत, सुदिप थिङ्ग र पासाङ तामाङ्गलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ । तीनै जनालाई शंकास्पद नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

तीन जनाको साथबाट २ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ । पाँचै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक ह्देश कुमार सापकोटाले जानकारी दिए । अघिल्लो हप्ता लागु औषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय