निर्वाचनले मतदाता नामावली अद्यावधिक गर्दै
बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित

बर्दिया, भदौ ९ (फरकसमाचार) / जिल्ला निर्वाचन कार्यालयले सोमबार देखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । निर्वाचन कार्यालयले भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने तयारीमा रहेको जनाएको छ । मतदाता नामावली प्रकाशन गरेलगत्तै भदौ १३ गते देखि १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने जनाएको हो । निर्वाचन कार्यालय वा वडा कार्यालयमा मतदाता नामावली अद्यावधिक(दाबी बिरोध समेत) गराउन सकिने छ ।

यस अवधिमा मतदाता नामावलीमा भएका त्रुटि सच्याउन, कसैले झुठ्ठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोध, मतदाता नामावलीमा मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए, मतदाताको मृत्यु वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि वडा कार्यालय वा निर्वाचन कार्यालयमा निवेदन दिन जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर केसी कुँवरले बताए ।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मतदाता नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गरेको उनले जनाए । हालसम्म जिल्लामा मतदाता संख्या ३ लाख १७ हजार ३ सय ६१ रहेको निर्वाचन अधिकारी केसी कुँवरले सार्वजनिक गरे । जसमा महिला १ लाख ६१ हजार ७ सय ७२, पुरुष १ लाख ५५ हजार ५ सय ८३ र तेस्रो लिङ्गी ६ रहेका छन् । यस मतदाता संख्या मध्ये मतदाता नामावली अद्यावधिक पछि दोहोरो नाम परेका, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाता घट्नेछन् । भदौको अन्तिमसम्म वास्तविक मतदाताको संख्या पत्ता लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी मतदान स्थल १ सय ५३ र ३ सय ७१ मतदान केन्द्र रहेका छन् ।

आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन जिल्लामा सफल पार्न निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमबाट सुरुवात गरेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । मतदाता नामावली अद्यावधिक कार्यक्रममा जनप्रतिनिधि र सम्पुर्ण राजनितिक पार्टीलाई सहयोग गर्न अनुरोध गरे । मतदाता नामावली स्वच्छ भयो भने आगामी चुनाव पनि स्वच्छ र शान्तिपुर्ण हुने प्रजिअ बास्तोलाले विश्वास व्यक्त गरे ।

निर्वाचन कार्यालयले आयोजना गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमको अन्तरक्रियामा प्रजिअ बन्धु प्रसाद बास्तोला, सहायक प्रजिअ रमेश पाण्डेय, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, नेपाल प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढा मगर, बज्रदल गणका सेनानी प्रविन थापा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य लगायत विभिन्न कार्यालयका प्रतिनिधि र पालिकाका प्रमुख तथा उप–प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर