त्रिविले भन्यो- हुबहु प्रश्नपत्र निकाल्नेलाई कारबाही गरियो, नाम सार्वजनिक गर्न मिल्दैन
आइतबार, भदौ १२, २०७९ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको बताएको छ।

काठमाडौं, भदौ १२ / आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताए।‘हुबहु प्रश्न सोधिएकोबारे कारबाही गरिसकिएको छ। यो संवेदनशील विषय भएकोले नामचाहिँ सार्वजनिक गर्न मिल्दैन। सुरक्षाका कारणले हो। नाम सार्वजनिक गर्दा हुबहु प्रश्नपत्र निकाल्ने यो पो रहेछ भन्ने हुन्छ,’ उपकुलपति बाँस्कोटाले भने।

त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहोर्‍याएपछि विरोध भएको थियो। हुबहु प्रश्नपत्र तयार गर्ने र एउटा विषयको उल्लेख गरेर अर्कै प्रश्नपत्र तयार पार्नेमाथि छानबिन गरी कारबाही गरिएको उनले बताए। ‘तीन वर्षसम्म पठनपाठन र परीक्षाका काम गर्न उहाँहरूमाथि रोकेका छौं,’ उनले भने, ‘उहाँहरूलाई विभागीय कारबाही गरिसकिएको छ।’

नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने त्रिविको भनाइ छ। विगतमा दुई जना शिक्षकको हत्या भएको पनि त्रिविले बताएको छ। उनले अर्को प्रसंगमा कर्मचारी प्रविधिमैत्री नहुँदा इन्ट्रीलगायत काम गर्न समस्या भएकोले वार्षिक प्रणालीअन्तर्गत विभिन्न परीक्षाका परीक्षाफल एक वर्ष हुँदा पनि प्रकाशित गर्न नसकिएको दाबी गरेका छन्।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर