राम प्रसाद चौहान
बर्दिया, भदौ १४ (फरकसमाचार) / आफ्नो संगठनका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन गुलरिया आएका जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सीके राउतले नागरिकता विधेयक बारेमा धारणा व्यक्त गरेका छन् । मंगलबार संचारकर्मीसंग कुरा गर्दै नागरिकता नागरिकको आधारभुत अधिकार बताएका छन् । सरकारले नागरिकता स्तरको आधारमा विभेद गर्न नहुने बताएका छन् ।
‘नागरिकको आधारभुत अधिकार नै नागरिकता हो’ जनमत पार्टीका केन्द्रीय अध्यक्ष राउतले भने,‘सरकारले नागरिकतामा पहिलो, दोस्रो र तेस्रो दर्जाको नागरिक भनि विभेद गर्नु हुदैन ।’ यदि राष्ट्रलाई खतरा छ भने विदेशी देश जस्तै पहिलै नियन्त्रण गर्ने वा पुर्ण बन्देज गर्ने तर नेपाली नागरिकलाई नागरिकताको स्तरको आधारमा विभेद नगर्ने बताएका छन् । यदि नेपाली होइन नागरिकता दिन मिल्दैन भने नदिने तर, नेपाली नागरिक हो भने नागरिकताबाट बञ्चित गर्न नहुने अध्यक्ष रावतले भनाई राखे । नागरिकता पाएपछि मात्र नागरिकले सम्पुर्ण अधिकार पाउने केन्द्रीय अध्यक्ष राउतको भनाई छ ।
नेपालका कुनै पनि नागरिकहरु नागरिकताबाट बञ्चित हुनुहुदैन । तर, नेपालको सन्दर्भमा नागरिकतालाई राष्ट्रियतासंग जोड्ने र बढी हल्लाखल्ला मच्चाउने वातारण रहेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले धारणा व्यक्त गरेका छन् ।
आगामी निर्वाचनको तयारीमा बर्दियाको गुलरियामा आएको सुनाए । सशक्त उम्मेदवारको खोजीतलासी गर्ने, संगठनलाई सुदृढीकरण गर्ने अभियानमा रहेको उनले जानकारी दिए । ‘सुशासन कायम गर्ने पार्टीको मुख्य एजेण्डा छ’ अध्यक्ष रावतले भने,‘शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र सामाजिक सुरक्षा जनतालाई चाहिने आधारभुत कुरा दिलाउने हाम्रो एजेण्डा हो ।’
यहि मुख्य एजेण्डालाई मध्यनजर गरी हामी निर्वाचनमा होमिएका छौं । जनताले अन्य विभिन्न पार्टीलाई बारम्बार जिताएर हेरिसकेका छन् । अब हेर्न बाँकी केही छैन । त्यसैले एक पटक जनमत पार्टीलाई मौका दिन जनतासंग जनमत पार्टीका केन्द्रीय अध्यक्ष रावतले आग्रहसमेत गरेका छन् । नागरिकता आन्दोलनको अगुवाई र किसान आन्दोलनको बारेमा आवाज उठाउने काम जनमत पार्टीले गरेको खुलाए । त्यसैगरी मिटर व्याजीलाई कारवाही गर्न सरकारलाई बाध्य बनाई अहिले मिटर व्याजीलाई कारवाही भईरहेकोसमेत जनमत पार्टीका केन्द्रीय अध्यक्ष रावतले जानकारी दिए ।