राम प्रसाद चौहान
बर्दिया, भदौ १७ / सहकारीसंग जोडिएका पशुपालक एक सय किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । गुलरिया नगरपालिका–४ मा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारीले बिहीबार पशुपालक किसानलाई विद्युतिय च्यापकटर (घाँस काट्ने मेसिन) वितरण गरेको हो ।
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग, भेरी वातावरणिय बिशिष्टता समूह (बि–गु्रप)को साझेदारी र दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा विद्युतिय च्यापकटर वितरण गरिएको छ । पशुपालक कृषकको आवश्यकतालाई मध्यनजर गरी विद्युतिय घाँस काट्ने मेसिन वितरण गरिएको छ । वितरण गरिएको घाँस काट्ने मेसिनले पशुपालक किसानलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।
दिगोपन सहकारीलाई एक मुष्ट रु २९ लाख ९० हजार उपलब्ध गराएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत निरञ्जन पाण्डेले बताए । ‘सहकारीले खरिद प्रक्रियाबाट च्यापकटर खरिद गरी पशुपालक कृषकलाई वितरण गरेको छ’ कार्यक्रम अधिकृत पाण्डेले भने,‘सहकारीमा आबद्ध दुध उत्पादक पशुपालक कृषकलाई सहज हुने उदेश्यले च्यापकटर वितरण गरिएको छ ।’
खरिद प्रक्रियाबाट सहकारीले च्यापकटर मुल्य रु २९ हजार ९ सयमा खरिद गरिएको छ । खरिद गरिएको मुल्यमा कृषकलाई १५ प्रतिशत हेफरले अनुदान दिनेछ । अनुदानपछि बाँकी बचेको रकम कृषकले मासिक किस्ताको रुपमा सहकारीलाई फिर्ता गर्ने छन् । कृषकबाट एक वर्षपछि उठ्ने च्यापकटरको रकम सहकारीको घुम्ती कोषमा जम्मा हुनेछ । सहरकारीको घुम्ती कोषमा जम्मा रहेको रकमले अर्को वर्ष कृषकलाई आवश्यक पर्ने उपकरण खरिद गर्न सकिने हेफरका कार्यक्रम अधिकृत पाण्डेले जानकारी दिए ।
गुलरिया नगरपालिका–४ की पशुपालक कृषक योग बहादुर केसीले सहकारी मार्फत पाएको घाँस काट्ने मेसिनले धेरै सहयोग पुग्ने बताए । ‘पहिला गाईभैसीको लागि घाँस काट्न घण्टौं समय लाग्थ्यो’ उनले भने,‘अब विद्युतिय घाँस काट्ने मेसिनले त्यति समय लाग्दैन ।’ यस मेसिनले समयको सदुपयोग गराउँछ । बचेको समयलाई उद्यमको अर्को काममा लगाउन सकिने बताउँदै खुसी व्यक्त गरे ।
न्युन सदस्यको सहभागितामा सुरुवात गरेको सहकारीमा अहिले ८ सय बढी सक्रिय सदस्य रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष जित कुमारी योगीले बताईन् । ‘सबै सदस्यको सक्रियताले सहकारीलाई अघि बढाउने हौसला मिलेको छ’ अध्यक्ष योगीले भनिन्,‘आगामी दिनमा समन्वय सहकार्यको लागि अपेक्षा गरेको छु ।’ सहकारीले कृषि उद्यमीलाई सबै कुरामा सहयोग पु¥याएको छ । पशुपालक कृषकले उत्पादन गरेको दुध सहकारीले दैनिक १ हजार २ सय लिटर संकलन गर्न सफल भएको छ । सहकारीमा आबद्ध सम्पुर्ण सदस्यलाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले अघि बढेको अध्यक्ष योगीले जानकारी दिईन् ।
कृषि सामाग्री वितरण कार्यक्रममा गुलरिया नगरपालिका–४ का अध्यक्ष सुरेश गौतम, वडा नम्बर ५ का अध्यक्ष मुम बहादुर मल्ल, कृषि विकास बैंकका लिमिटेडका प्रबन्धक धनश्याम न्यौपाने, बिग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत निरञ्जन पाण्डे, प्रदिप शर्मा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख कृष्णा धिताल, सहकारीका पदाधिकारी र क्रियाशिल सदस्यहरुको उपस्थिती रहेको थियो । सहकारीका ७ वटा सिद्धान्त स्मरण गर्दै सहकारीकी अध्यक्ष योगी र वडा अध्यक्ष गौतमले ७ वटा मैनबत्ती प्रज्वलन गरी संयुक्त रुपमा कृषि सामाग्री वितरण कार्यक्रमको उद्घाटन गरेका थिए ।