अबैध सामान रोक्न माग गर्दै संघले बुझायो ज्ञापनपत्र
शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

बर्दिया, भदौ १७ (फरकसमाचार) / भारतीय सिमामा संचालन भएका बजारबाट अबैध रुपमा भित्रिने सामानमा रोक लगाउन माग गर्दै उद्योग बाणिज्य व्यवसायी संघले संयुक्त रुपमा प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ । पारी सिमामा संचालन भएका बजारले वारीका व्यवसायी धरापमा परेको जनाउँदै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले ज्ञापनपत्र बुझाएका छन् ।

भारतीय सिमामा संचालन भएका बजारले हाम्रा व्यवसायी पलायन हुने स्थितीमा पुगेको अध्यक्ष पाण्डेले बताए । ‘घरायसी परियोजनको नाममा दिनहुँ हजारौं व्यक्तिले अबैध सामान ओसार पसार गरिरहेका छन्’ अध्यक्ष पाण्डेले भने,‘यसरी चोरी पैठारी हुँदा राज्यसमेत घाटा भईरहेको छ ।’ नेपालको सिमासंग जोडिएर संचालन भईरहेका लौकाही, बलाईगाउँ र बठानीया बजारले हाम्रा व्यवसायी मारमा परेका छन् । जुन नाकामा बजार संचालन भएका छन्, त्यस्ता नाकामा छोटी भन्सार स्थापना गर्न जरुरी रहेको अध्यक्ष पाण्डेले जनाए ।

ज्ञापन पत्र बुझ्दै भारतीय बजार संचालन भएका नाकामा छोटी भन्सार कार्यालय स्थापनाको लागि सम्बन्धित निकायमा पत्राचार गर्ने प्रजिअ बन्धु प्रसाद बास्तोलाले बताए । ‘चाडपर्व नजिकिएसंगै अबैध रुपमा बढी सामान ओसार पसार हुने सम्भावना छ’ प्रजिअ बास्तोलाले भने, ‘खुल्ला सिमानाकामा हुने सामान ओसार पसार न्युनिकरण गर्न प्रहरीलाई निर्देश गर्नेछु ।’

साथै यस्ता गतिविधि रोक्न उद्योग वाणिज्य संघसंग समन्वय र सहकार्य गर्ने प्रजिअ बास्तोलाले आश्वासनसमेत दिए । जिल्लाका ८ वटै उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थितीमा प्रजिअ बास्तोलालाई उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष पाण्डेले ज्ञापनपत्र बुझाएका छन् । यदि भारतीय सिमामा संचालन भएका बजारबाट खुलेआम ल्याउने सामानमा सम्बन्धित निकायले रोक लगाएन भने ८ वटै पालिकामा रहेका व्यवसाय बन्दहडताल गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय