एसईईमा सन्तोष जनक नतिजा नआउँदाको परिणाम
राम प्रसाद चौहान
बर्दिया, भदौ २० / आफ्ना छोरा र छोरी बाहिर पढाउँने, गरिबका छोरा र छोरीको भविष्य माथी खेलवाड गर्ने छुट छैन शिक्षकसँगको साक्षात्कार कार्यक्रममा नगर प्रमुख यादवले भने,‘तपाईहरु बिभिन्न बाहानामा बजेट माग्न पछि पर्नु हुन्न, त्यस्तै गरी पढाईको स्तरमा म कम्पोमाईज गर्न सक्दैन ।’ नगर प्रमुखले एसईईको नतिजाले गुलरिया नगरपालिका बदनाम भएको भनिरहँदा सभाहलमा जम्मा भएका शिक्षक तैं चुप मै चुप भए ।
नगर प्रमुख यादवले डेन्ट र पेन्टले सजाएर बिद्यालय राम्रो नहुने कुरा उल्लेख गर्दै गरिबका छोरा र छोरीको शैक्षिक स्तर बृद्धि भईरहेको राम्रो नतिजा हेर्ने चाहाना भएको खुलासा गरे । शिक्षकले गरेको लापरबाहीले एउटा बिद्यालयको बदनाम नभएर गुलरिया नगरपालिकाको बदनाम गर्न शिक्षाका बिज्ञ नामले चिनिएका शिक्षक अग्रपंक्तिमा रहेको नगर प्रमुख यादवले खुलासा गरे ।
गुलरिया नगरपालिकाका विद्यालयले एसईईमा सन्तोषजनक नतिजा नल्याउँदा नगर प्रमुख मुक्तिनाथ यादवले असन्तुष्टि जनाएका छन् । शिक्षा, युवा तथा खेलकुद शाखाले आइतबार आयोजना गरेको ‘पञ्चवर्षीय नगर शिक्षा क्षेत्र योजना (२०७८–२०८३) एवम् स्थानीय विषयको पाठ्यक्रम ‘गुलरिया गाथा’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले विद्यालयका प्रधानाध्यापकहरु प्रति असन्तुष्टि जनाएका हुन् ।
नगरका विद्यालयहरुको नतिजा हेर्दा आफैलाई अचम्म लागेको नगर प्रमुख यादवले बताए । ‘पहिला जिल्लामै गुलरिया नगरपालिकाका विद्यालय पहिलो स्थानमा आउथे, नगर प्रमुख यादवले भने,‘तर अहिले कस्तो अवस्था स्थिती छ ।’ नगरका विद्यालयले एसईईमा ल्याएको नतिजाले आफैलाई लाज लागेको सुनाए । ‘नगरको शैक्षिक स्तर बढाउन नगरपालिकाले कुनै कमजोरी गरेको छनै’ नगर प्रमुख यादवले भने,‘तपाईहरु पनि दिनदिनै विद्यालय गएर पढाउनु भएकै छ ।’ तर, के कारणले विद्यालयले सन्तोषजनक नतिजा नल्याएको भन्दै प्रधानाध्यापकहरुलाई नगर प्रमुख यादवले प्रश्न गरे । ‘
आफ्नो बालबालिकालाई बाहिर पढ्न पठाउने’ नगर प्रमुख यादवले भने,‘अनि गरिबका बच्चालाई यस्तै शिक्षा दिने हो ।’ नगरपालिकाको कुनै कमजोरी भए खबर गर्नुस् । बिल्डिङ्ग र डेन्टपेन्ट मात्र चाहियो भन्दै प्रधानाध्यापकमाथि नगर प्रमुख यादवले आक्रोष पोखे ।
शिक्षाको यस्तो अवस्थामा फेरी गुलरिया नगरपालिले भागवान्को भरोसामा शिक्षा क्षेत्र योजना र स्थानीय पाठ्क्रम थपेको जनाए । विगतमा जे जस्तो भएपनि आगामी पाँच वर्षमा गुणस्तरीय शिक्षा दिन प्रधानाध्यापकहरुलाई नगर प्रमुख यादवले निर्देशनसमेत दिएका छन् । शैक्षिक स्तर बढाउन नगरपालिकाले सबै सहयोग गर्न तयार छ । तर, आगामी दिनमा शैक्षिक स्तर उठाउन लाग्नु पर्ने सुझाए ।
‘श्रम, रोजगार युक्त गुणस्तरीय शिक्षा हाम्रो चाहना, व्यावसायिक र प्राविधिक जनशक्ति गुलरिया नगरपालिकाको गहना’ भन्ने मुल नाराकासाथ पञ्चवर्षीय नगर शिक्षा क्षेत्र योजना बनाएको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत सतिस यादवले बताए । ‘पञ्चवर्षिय योजनाले नगरको शैक्षिक उकास्न सहयोग पुग्छ’ उनले भने,‘योजनामा उल्लेख गरिएका शैक्षिक रणनितिको आधारमा आगामी दिनमा शैक्रिक क्रियाकलाप हुनेछ ।’ त्यसैगरी आधारभूत तहमा स्थानीय विषयको पाठ्यक्रम समावेश गरिएको शिक्षा शाखाका अधिकृत यादवले जनाए ।
यस पाठ्यक्रमले गुलरियाको इतिहासको चित्रण गर्नेछ । स्थानीय पाठ्यक्रममा गुलरिया नगरपालिकाको स्थानीय भेषभुषा, रहनसहन संस्कृतिलगायतका सम्पुर्ण चिज समावेश गरिएको छ । यस पाठ्यक्रमले विद्यार्थीहरुलाई आफ्नो पालिकाको बारेमा सम्पुर्ण ज्ञान प्राप्त गर्न सक्छन् । चालु शैक्षिक वर्षदेखि नगरका क्षेत्रभित्रका ४७ वटा सामुदायिक र १३ ववटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम अध्यापनको लागि समावेश भएको शाखा अधिकृत यादवले जानकारी दिए ।
नगर प्रमुखले आक्रोष पोख्दा कार्यक्रममा सहभागी भएका प्रधानाध्यापक तथा शिक्षकहरुले अनुहार मलिन बनाउँदै चुपचाप बसिरहे । ‘पञ्चवर्षीय नगर शिक्षा क्षेत्र योजना एवम् स्थानीय विषयको पाठ्यक्रम ‘गुलरिया गाथा’ लोकार्पण गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादव, निमित्त कार्यालय प्रमुख रुप सिंह खत्री, गुलरिया नगरपालिका–७ का अध्यक्ष मनोज यादव र सामाजिक विकास समितिकी संयोजक निर्मला मैनालीले संयुक्त रुपमा गरेकी थिईन् ।