बर्दिया, भदौ २१ (फरकसमाचार) / दिगोपन र पालिका तहमा सुआहाराले आफ्नो दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम बारे सुआहाराले संचालन गरेको कार्यक्रमको बारेमा सोमबार कार्यशाला गोष्ठी गरेको हो । युएसएआईडिको सहयोगमा पोषण तथा खाद्य सुरक्षा र गुलरिया नगरपालिकाको समन्वयमा सुआहाराले नगरमा विभिन्न क्षेत्रमा कार्यक्रम संचालन गरिरहेको छ । सुआहाराले स्वास्थ्य, कृषि, खानेपानी सरसफाई र स्वच्छताको काम गरिरहेको छ ।
गुलरिया नगरपालिका स्तरमा नगर प्रमुखको संयोजकत्वमा र १२ वटै वडाहरुमा वडा अध्यक्षको संयोजकत्वमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती गठन गरि काम गरिरहेको सुआहाराका वरिष्ठ कार्यक्रम संयोजक बिकाश रोकायले प्रस्तुतीकरणका क्रममा बताए ।
आ.व ०७८/०७९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गुलरिया नगरपालिकामा कुल जनसंख्या ७६ हजार ७ सय ३२ रहेको उल्लेख गरे । ‘प्रोटोकल अनुसार कम्तीमा चार पटक गर्भ जाँच गर्ने गुलरिया नगरपालिका महिलाको संख्या ७२.८ प्रतिशत रहेको छ’ बरिष्ठ कार्यक्रम संयोजक रोकायले भने,‘नगरका २७.२ प्रतिशत महिलाले प्रोटोकल अनुसार जाँच नै नगरी बच्चा जन्माएका छन् ।’
त्यसैगरी गर्भावस्थामा कम्तीमा १ सय ८० आइरन/फोलिक एसिडको सेवन गर्ने महिलाको प्रतिशत ७३ रहेको छ । २७ प्रतिशत महिलाले आइरन/फोलिक एसिड सेवन नगरेको प्रस्तुतीकरणमा रोकायले जनाए । यसले गर्दा जन्मिने बच्चा कुपोषणको शिकार हुन्छ । कुपोषण न्युनिकरण गर्न आमा समुह स्वयसेविकाहरुसंग मिलेर काम गरिरहेको उनले जनाए । संस्थागत सुत्केरी भएका महिलाको प्रतिशत १ सय २४ र सुत्केकी भएको १ हप्ताभित्र गरिने स्वास्थ्य परिक्षण प्राप्त महिलाको प्रतिशत ३६.१ रहेको छ । परिवार योजनाका साधनहरुको प्रयोगदर ७०.१ प्रतिशत रहेको उल्लेख छ । पालिकाको पोषण संवेदनशील सूचकहरुको यो अवस्थामा सुआहाराले नगरपालिकासंगको समन्वयमा अघि बढि रहेको जनाईएको छ ।
कुपोषण सम्बन्धी मधेसी समुदायका महिलामा सचेतनाको कमी रहेको गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाले बताए । यस्ता समुदायलाई बढी प्राथमिकतामा राखेर सहकार्य गर्न आवश्यक रहेको अध्यक्ष बानियाले सुझाए । दिगोपन र पालिका तहमा सुआहाराले दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी कार्यक्रममा जनप्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।