चुनाव र चाडबाडले नरोकिएका पाइला
बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

गौरीफन्टा, भदौ २९ / चाडबाड र चुनाव नजिकिएकाले मुलुक एकसाथ दुई ठूला उत्सवमा होमिंदैछ । घरभन्दा टाढा रहेकाहरू दशैं, तिहार, छठ, नेपाल सम्वत, उभौली, क्रिसमस जस्ता ठूला चाड मनाउन गाउँ र्फकने योजना बनाउन थालिसकेका छन् ।

यसटक भने चाँडबाँडसँगै आमनिर्वाचन पनि हुँदैछ । ४ मंसिरमा चुनाव हुने भएकाले सरकार, निर्वाचन आयोग र दलहरुको (स्वतन्त्र उम्मेदवार बन्न चाहने समेत) तयारी तीव्र बनेको छ ।

सुदूरपश्चिम प्रदेशका चोकचौतारा र चिया पसलहरूमा हुने अनौपचारिक सम्वाद पनि यिनै दुई विषयमा (चुनाव र चाडबाड) केन्दि्रत हुन थालेको छ । ‘यसपटक चाडबाड सकेपछि भोट दिएर महेन्द्रनगर फर्कनु पर्ला’ रन्दिपे सार्की (६५) योजना सुनाउँछन् । २३ भदौमा महेन्द्रनगरको सञ्चार चोकमा भेटिएका रन्दिपे वैशाखमा बाजुराको खापर गाउँपालिका-२ बाट महेन्द्रनगर झरेका हुन् ।

सुदूरपश्चिम पहाडबाट कामको दौरान दक्षिणी शहर झरेका रन्दिपे जस्ता अधिकांश घर फर्कने तयारीमा जुटेका छन् । ‘चाडबाड आइसक्यो, तयारी त गर्नैपर्यो नि’, रन्दिपे भन्छन् ।

तर चाडबाडको रमाइलो र मतदानको अधिकार छोडेर मुलुक बाहिर जानेहरू पनि थुप्रै भेटिन्छन्, नाकाहरूमा । सुदूरपश्चिमको राजधानी धनगढी नजिकै रहेको गौरीफन्टा नाकाको तथ्याङ्कले पनि चाडबाड र चुनावमा मुलुकभित्रै रोकिन नसक्ने ठूलै संख्यामा रहेको देखाउँछ ।

‘नेपालमै भए त चुनावको कुरा गर्नुहुन्थ्यो, तर उता (भारतको बैंग्लोर) हिंडियो’, सुरेन्द्र बोहोरा (२४) भन्छन् । २०७४ को चुनावमा भने उनले मतदान गरेका थिए । ‘त्यसबेला काठमाडौंमा थिएँ, भोट दिन गाउँ गएँ’, बझाङको बित्थड गाउँपालिका-२ का सुरेन्द्र भन्छन् । तर कोरोना महामारीले सुरेन्द्रलाई बैंग्लोर पुर्‍यायो । ‘काठमाडौंमा ठीकै कमाइ थियो, पढ्दै होटलमा काम गर्दा १६ हजार (महिनामा) जति आउँथ्यो’ उनी भन्छन्, ‘कोरोना पछि लकडाउन भयो, काम छोड्नुपर्यो ।’

कक्षा-१२ गरेपछि होटलमा काम गर्न थालेका सुरेन्द्रलाई कोरोना महामारी रोकथामका निम्ति गरिएको लकडाउन र निषेधाज्ञाले बेरोजगार बनायो । होटल व्यवस्थापनमा स्नातक गर्दागर्दै बैंग्लोर पुगेका सुरेन्द्रले काठमाडौंमा भन्दा (१८ हजार भारु) राम्रै कमाउन थाले । केही वर्ष कमाएर गाउँ फर्कने योजनामा थिए, उनी । तर गाउँमा पत्नी कलावति बिरामी परिन् । यहाँको औषधिले निको नभएपछि सुरेन्द्र नेपाल फर्किए । ‘उपचार गराउन पनि भारत जानुपर्ने भयो, लिन आएको’ उनी भन्छन्, ‘अब कहिले फर्कने भन्ने निश्चित छैन ।’

उनीजस्तै अर्का युवा दिनेश बुढामगर (२०) पनि गौरीफन्टा नाकामा भेटिए । दिनेश पनि पत्नी र दुई महिनाको बच्चा लिएर भारत गएका छन् । ‘घरको जेठो छोरो परियो, घर चलाउन सानैबाट उता जान थालें,’ दिनेश भन्छन् ।

मजदुरी गर्न भारत जान थालेपछि नै उनले पढाइ बीचैमा छोड्नु पर्यो । कक्षा-६ सम्म मात्रै पढेर भारत जान थालेका हुन् । ‘भोकै बस्न त सकिंदैन । पैसा ल्याएर परिवार पाल्नुपर्छ’, किशोरवयमै परिपक्क सुनिए दिनेश । पढ्ने उमेरमा छिमेकी मुुलुकमा मजदुरी गर्न पुग्नुको पछाडि भने घरको दुखसँगै छिमेकी र आफन्तको संगतबाट दिनेश प्रेरित भएका थिए ।

‘अरु पनि जान्छन्, सबै जाने भएपछि उनीहरुकै साथ लागेर हिँडें’, दिनेश भन्छन् । आफ्नै उमेरका पत्नी र बच्चा लिएर हिँडेका दिनेशले अब केही वर्ष उतै बस्ने योजना सुनाए । ‘हेरौं, कमाइ कस्तो हुन्छ ! राम्रो भएसम्म त कमाउनुपर्छ’, उनी भन्छन् । चाडबाडकै मुखमा गाउँ छोड्नु परेकोमा दुःख लागेपनि चुनावबारे भने दिनेश लगभग बेखबर देखिए ।

डोटीको दिपायल-८ का संग्राम विक पनि परिवारसहित भारतको हैदरावाद हिँडेका छन् । उनी पनि केही समय अगाडि मात्रै नेपाल आएका थिए । ‘नेपालमा काम पाउनै गाह्रो छ, अब उता कमाउने बानी परिसक्यो’, संग्राम भन्छन् । उनका अनुसार, हैदरावादमा महिनाको २० हजार (भारु) सम्म कमाइ हुन्छ । ‘परिवार लिएर जाँदा धेरै बचत त हुन्न, बाँच्न सकिन्छ’, उनी भन्छन् । ८ वर्षदेखि संग्रामले हैदरावादमा काम गर्ने गरेका छन् ।

 

सुरेन्द्र, दिनेश र संग्रामहरुसँगै, कैलालीका भीम बुढा (२९) पनि भारत गएका छन् । उनी एक्लै भारत हिँडेप नि कमाएर नेपालमा रहेका परिवार पाल्नुपर्ने दायित्व काँधमा छ । ‘घरको अवस्थाले उता जान थालेको हो, अब यहाँ बसेर के गर्नु’ भीम भन्छन्, ‘उतै गएपछि कमाइ हुन्छ, त्यसैमा चित्त बुझाउनुपर्‍यो ।’

सीमा सुरक्षा प्रहरी गौरीफन्टाको तथ्याङ्क अनुसार, १६-२२ भदौसम्मको हप्ता दिनमै ५ सयजना यो नाका भएर भारत गएका छन् । यसबाहेक अरु नाकाहरुबाट पनि सुदूरपश्चिमका नागरिक भारतका विभिन्न शहर जान्छन् ।

‘केही व्यापार व्यवसाय र आफन्तलाई भेट्न गए पनि अधिकांशको उद्देश्य रोजगारी हो’ सीमा सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले भने, ‘कुन उद्देश्यले जान लागेको भनेर त सोध्दैनौं, तर युवाहरु कमाउन नै जान्छन् ।’अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर