आज देखि म्यादी प्रहरीको लागि आवेदन बुझाउन सुरु
बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित

बर्दिया, भदौ ३० (फरकसमाचार) / आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया आज बिहीबार देखि सुरु गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाको लागि बिहीबार देखि असोज ६ गतेसम्म आवेदन बुझाउन सकिनेछन् । बिहान १० बजे देखि साँझ ५ बजेसम्म जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि दरखास्त बुझाउन सकिनेछ ।

असोज ७ गते सम्पर्क मिति तोकिएको छ । असोज ९ गते देखि १४ गतेसम्म छनौट गर्ने । असोज २५ गते म्यादी प्रहरीमा छनौट भएका नाम सार्वजनिक गर्ने । छनौट भएका म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने योजना जिल्ला प्रहरी कार्यालयको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभवहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । म्यादी प्रहरीको कार्य अवधी ४० दिन रहने छ । दैनिक रु ८ सय ६९ का दरले ४० दिनको रु ४३ हजार ७ सय ६० म्यादी प्रहरीले प्राप्त गर्नेछन् । त्यसैगरी प्रतिव्यक्तिले खाद्यन्न बापत रु ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न रु ६ हजार प्राप्त गर्नेछन् । निर्वाचनको समयमा खटिएको ठाउँमा जान आउन यातायात खर्च बापत प्रति व्यक्तिले रु १ हजार र रु ३ सयका दरले चार दिनको १ हजार २ सय खाजा खर्च निर्धारण गरिएको छ ।

प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गराउन म्यादी प्रहरीको भर्नाको लागि आवेदन फर्म संकलनको काम बिहीबार देखि सुरु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले बताए । ‘नेपाल अधिराज्यभर १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलिएको छ’ डिएसपी बोहराले भने, ‘बर्दिया जिल्लाको लागि कति म्यादी प्रहरी भर्ना गरिने माथिबाट जानकारी आएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर