शिलान्यासको विरोध गर्नेलाई मन्त्री राईको जवाफ–‘सबै आयोजना सम्पन्न हुन्छन्, कसैले प्रेसरको औषधि खानु पर्दैन !’
बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित

बाँके, भदौ ३० / भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगन्ज–गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिना भित्रै काम सुरू हुने बताएका छन् । नन्दनी मिल नजिकै नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतिको बुधबार शिलान्यास गर्दै मन्त्री राईले यो आयोजनामा बस्ती भएका ठाउँमा झिलिमिली पार्ने योजना पनि रहेको जनाएका हुन् ।

यो सडकखण्डको भूगोलमा जोडिएका बाँके–बर्दियाका जनप्रतिनिधिहरूको दबाब र घच्घच्याइले यो आयोजना ल्याउन सफलता मिलेको मन्त्री राईको भनाई थियो । यो कामको श्रेय पनि आफूले उनै जनप्रतिनिधिहरूलाई दिन चाहेको पनि बताए । ‘यसको श्रेय मलाई दिनु पर्दैन । संजय गौतम जी, डम्बर जी, प्रशान्त जी, बढैयातालका प्रमुख सबैले चासो राखेर नै यो काम हुन सकेको हो’, मन्त्री राईले भने, ‘आयोजनालाई द्रुत गति दिन दिनरात नभनि मिहेनत गर्ने भौतिक मन्त्रालयका सचिव, महानिर्देशक, हुलाकी सडक आयोजना प्रमुख, सडक डिभिजनका प्रमुखलाई पनि धन्यवाद ।’

भौतिक मन्त्रालय सम्हालेको २ महिनामै आफूले गरेको कामदेखि विकासविरोधीहरू अत्तालिएको मन्त्री राईको भनाइ थियो । शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले बाँकेमा अर्को एक आयोजना ल्याउन लागेको उद्घोष पनि गरे । आफ्ना कामको विरोध गर्नेहरूलाई लक्षित गर्दै मन्त्री राईले व्यङ्ग्यातमकरूपमा भने, ‘नेपालगन्जलाई निर्वाचन क्षेत्र नम्बर १ हुँदै दाङसम्म जोड्ने स्तरीय बाटो पनि चाँडै बन्ने छ । तर तपाईंहरू चिन्ता नगर्नुस्, त्यसबेलासम्म निर्वाचन आचारसंहिता लागिसक्नेछ । सिलान्यास गर्न नमिल्ला । तपाईंहरूले प्रेसरको औषधि खानु पर्दैन, मुटु फुट्दैन ।’

आफूले गरेको कामलाई उनीहरूले गलतरूपमा अर्थ्याएर भ्रम सृजना गर्न खोजेको मन्त्री राईको भनाइ थियो । ‘शिलान्यास हुन्छ काम हुँदैन रे ! म सहरी विकास मन्त्री हुँदा शिलान्यास भएको भेरी अस्पतालमा नयाँ भवन बनेन र ? नेपालगन्ज सभा हल बनेन र ? नेपालगन्जमा ३९ र कोहलपुरमा १३ हाइमास्ट लाइट शिलान्यास ग¥यौं । वाटरपार्क र चिल्ड्रेन पार्क शिलान्यास गरेको, काम भएन र ? न्यूरोडबाट २२ वटा रोड शिलान्यास गर्दा त्यो बाटो बनेन र ? कारकाँदो बाइपास रोड, बीटीएस रोड सम्पन्न भएन र ? सुरक्षित आवासका लागि ३ हजार परिवारले अनुदान पाएनन् र ?’, मन्त्री राईले ब्यङ्ग्य कस्दै भने, ‘लक्ष्य चाहिँ केन्द्रको राख्ने र सोच चाहिँ सानो स्तरको राख्ने ? ’

आफू मन्त्री नभएको भए यी आयोजनाहरू नआउने पनि राईको दाबी थियो । खजुरा र गुलरियामा लामोसमयदेखि काम अलपत्र पारेका ठेकेदारहरूलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्न र आवश्यक परे ठेक्का समेत तोड्न भौतिक मन्त्रालयका सचिव र महानिर्देशकलाई निर्देशन पनि दिएका थिए । शिलान्यास कार्यक्रममा बर्दियाका सांसद एवम् पूर्वमन्त्री संजय गौतम लगायत बाँके–बर्दियाका जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय