बर्दिया अस्पतालको वार्षिक प्रगति समिक्षाः अस्पतालले दिने सेवा विश्वासिलो बन्दै
आइतबार, असोज ०२, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,असोज २ (फरकसमाचार) / बर्दिया अस्पतालले दिने उत्कृष्ट चिकित्सकीय सेवाले सेवाग्राहीको अस्पताल प्रति आत्मविश्वास बढ्दै गएको पाईएको छ । अस्पतालको विगत तीन वर्षको तथ्यांक हेर्दा अस्पतालमा सेवाग्राहीको संख्या क्रमशःबढ्दै गएको पाईएको हो । शनिबार अस्पताल द्वारा आयोजना गरिएको वार्षिक प्रगति समिक्षा कार्यक्रममा अस्पतालले सार्वजनिक गरेको तथ्यांकले प्रत्येक वर्ष सेवा लिने सेवाग्राहीको संख्यामा वृद्धि भएको देखिन्छ । सिमित स्रोत साधनको उपस्थितीमा अस्पतालले गुणस्तरीय चिकित्सकीय सेवा दिदाँ अस्पताल प्रति सेवाग्राहीको आत्म विश्वास बढ्दै गएको छ ।

चार जना विषेशज्ञ डाक्टरलगायत अस्पतालको सम्पुर्ण टिमले दिने सेवाप्रति सेवाग्राही आत्मविश्वास बढेको छ । बिगतका वर्षको भन्दा अस्पतालका सेवा विस्तार र भौतिक संरचनाको स्वरुप फेरिदै गएको छ । स्वरुप फेरिएसंगै अस्पतालमा सेवा ग्राहीहरुको आकर्षण बढ्दै गएको रेकर्डले पुष्टि गर्छ ।

आ.व.०७६/०७७ मा ८ हजार ४ सय ९५ जनाले अस्पतालको इमरजेन्सी सेवा लिएका छन् भने ०७७/०७८ मा ८ हजार ६ सय ६१ र आ.व. ०७८/०७९ मा ९ हजार ९ सय ९१ सेवाग्राहीले अस्पतालको इमरजेन्सीमा सेवा लिएको रेकर्ड अस्पतालमा सुरक्षित छ । आ.व. ०७६/०७७ मा ४१ हजार ८ सय ८७ जनाले बहिरंग सेवा लिकएका छन् । आ.व. ०७७/०७८ मा ४६ हजार ९ सय ६९ र आव ०७८/०७९ मा १ लाख ७ हजार ४ सय ७८ जनाले बहिरंग सेवा लिएका छन् । त्यसैगरी आव ०७६/७७ मा १ हजार २ सय २९ जना महिलाले अस्पतालमा प्रसुति सेवा लिएका छन् । आव ०७७/०७८ मा १ हजार ५ सय १९ र आव ०७८/०७९ मा १ हजार १ सय ६८ जना महिलाले प्रसुति सेवा लिएको अस्पतालको रेकर्डले पुष्टि गर्छ ।

शनिबार वार्षिक प्रगति समिक्षा गोष्ठीमा प्रस्तुतीकरण गर्दै अस्पतालले दिने सम्पुर्ण सेवामा सेवाग्राहीको संख्या बढ्दै गईरहेको बर्दिया अस्पतालका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.सुभाष पाण्डेयले सार्वजनिक गरे । जनशक्तिको उपलब्धतामा जिल्लावासीलाई गुणस्तरीय चिकित्सकीय सेवा दिन तत्पर रहेको मेसु डा.पाण्डेयले बताए । ‘विद्युतको समस्याले अक्सिजन प्लान्ट चलाउन समस्या रहेको छ’ मेसु डा.पाण्डेयले भने,‘निरन्तर अक्सिजन प्लान्ट चलाउन अस्पतालमा ट्रान्सफर्मर र जेनेरेटरको आवश्यकता छ ।’ अक्सिजन प्लान्ट निरन्तर चलाउन सके अस्पतालको प्रत्येक बेडमा सजिलै अक्सिजन उपलब्ध गराउन सकिन्छ । त्यसैगरी २५ बेडको एचडियु भवन निर्माणको कार्य सम्पन्न भईसकेको छ । एचडियु संचालनको लागि आवश्यक जनशाक्तिको अभाव छ । जसले गर्दा एचडियु संचालनमा नआएको मेसु डा. पाण्डेयले जनाए ।

वार्षिक समिक्षा कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारीलाई अस्पतालले सम्मानि गरेको छ । अस्पतालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा अधिकांश सहभागिले अस्पतालले दिने सेवा र व्यवस्थापकीय पक्ष सन्तोषजनक रहेको बताए ।

वार्षिक समिक्षा कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, स्वास्थ्य निर्देशनालयका प्रतिनिधि मान बहादुर वली, अस्पताल विकास समितिका निर्वतमान अध्यक्ष अंगद श्रेष्ठ, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष सुधांसु प्रकाश शर्मा, गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय