आत्महत्याको स्थिती भयावह
सोमबार, असोज ०३, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असोज ३ (फरकसमाचार) / बर्दिया जिल्लाको बिगत तीन वर्षको तथ्यांक हेर्दा आत्महत्याको स्थिती भयावह बन्दै गएको छ । बिगत तीन वर्षमा ४ सय ५४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय बर्दिया सामुदायिक प्रहरी सेवा केन्द्र द्वारा आइतबार आयोजित ‘विश्व आत्महत्या रोकथाम दिवस’मा तीन वर्षमा आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको हो ।

आव ०७६/०७७ मा १ सय ४३, आव ०७७/०७८ मा १ सय ५० र आव ०७८/०७९ मा १ सय ६१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयमा रेकर्ड सुरक्षित छ । तीन वर्षको अवधिमा सबै भन्दा बढी १६ देखि २५ वर्ष उमेर समुहका १ सय १३ जनाले आत्महत्या गरेको पाईएको छ । १६ वर्ष मुनि उमेर समुहका ३०, २६ देखि ३५ वर्ष उमेर समुहका ८६ जनाले आत्महत्या गरेको देखिन्छ ।

त्यसैगरी ३६ देखि ४६ वर्ष उमेर समुहका ८९, ४६ देखि ६० वर्ष उमेर समुहका ८७ र ६० वर्ष भन्दा माथिका उमेर समुहका ४९ जनाले तीन वर्षमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको रेकर्डले पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालयको रेकर्ड अनुसार आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या बढी देखिएको छ । तीन वर्षमा आत्महत्या गर्ने ४ सय ५४ मध्ये २ सय ५३ पुरुष र २ सय १ महिला रहेका छन् ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको देखिन्छ भने विश्वमा वार्षिक आठ लाख मानिसले आत्महत्या गर्ने गरेको डब्लुएचओको तथ्यांकले पुष्टि गर्छ ।

आकस्मिक उत्तेजना, पारिवारिक वेमेल, कमजोर आर्थिक अवस्था, प्रयासरत कार्यमा असफल, व्यक्तिगत चाहनामा उतार चढाव, एकल परिवार, कमजोर मानसिक स्वास्थ्य, नियमित यातना, आमाबुवाको हेरचाहमा नहुनु, नियमित व्यस्तताको कमि, नियमित आम्दानीको कमि, सामाजिक संजालको दुस्प्रभाव र सामाजिक आर्थिक असमानता आत्महत्याका मुख्य कारण रहेको प्रहरीले जनाएको छ ।

प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । ‘आत्महत्या गर्नेको संख्या के कारणले बढ्दै गएको छ, त्यसको अध्ययन गर्न जरुरी छ’ प्रजिअ बास्तोलाले भने,‘आत्महत्याका कारण पत्ता लगाई सामुदाय स्तरमा सचेतनामुलक अभियान चलाई आत्महत्या न्युनिकरण गर्न तर्फ ध्यान दिन जरुरी छ ।’

बर्दियामा दिनहुँ आत्महत्याका प्रयास हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताए । ‘समयमै अस्पताल पु¥याए कोहीको ज्यान जोगिन्छ भने कोहीको मृत्यु भएको छ’ प्रहरी उपरीक्षक शाहीले भने,‘आत्महत्याको रेकर्ड हेर्दा हामीलाई नै दिक्क लागेको छ ।’ बर्दियामा नभई यो समस्या देशैभरी नै रहेको छ । गत वर्ष लुम्बिनी प्रदेशको समग्र जिल्लाको आत्महत्याको रेकर्ड हेर्दा बर्दिया जिल्ला चौथो नंम्बरमा रहेको छ । यो स्थिती भयावह र काहाली लाग्दो छ । ‘आत्महत्या न्युनिकरण गर्न प्रहरीको एक्लो प्रयासले सम्भव हुदैन’ प्रहरी उपरीक्षक शाहीले भने,‘आत्महत्या रोकथाममा हामी सबैको हातेमालो आवश्यक छ ।’

भदौ १५ गते मनाईने आत्महत्या रोकथाम दिवस विभिन्न कारणले पछि सारिएको थियो । आईतबार मनाईएको आत्महत्या रोकथाम दिवसमा शिक्षक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय