बर्दिया, असोज ३ (फरकसमाचार) / चितुवा बाघ दिनहुँ बस्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । गुलरिया नगरपालिका–८ सुरजपुरलगायतका ठाउँमा मुर्तिहा जंगलको चितुवा बाघ दिनदाहडै बस्ती पस्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।
शनिबार राति गुलरिया नगरपालिका–८ सर्जुनदी टोल स्थित लक्ष्मी बाँडियाको खोरमा बाँधिएको बाख्रा चितुवाले खाएको छ । खोरमा बाँधिएको बाख्रा तानेर १ सय मिटर परा खेतमा लगेर खाएको बाँडियाले जानकारी दिईन् ।
सर्जुनदी टोलबाट मुर्तिहा जंगल करिब दुई किलोमिटर बढी दुरीमा छ । करिब दुई किलोमिटरको दुरी तय गरी बस्ती पसेर चितुवाले बाख्रा खाएपछि स्थानीय त्रसित बनेका छन् ।
शनिबार दिउँसै सुरजपुर र सर्जुनदी टोलको बिचमा पर्ने शंकर बंगला भन्ने स्थानमा चितुवा बाघ देखिएको स्थानीय प्रवेश लोधले बताए । हामी स्थानीयले होहल्ला गरेपछि जंगल तर्फ भागेको उनले सुनाए । ‘बर्खाको समय छ, झाडी र मकै त्यस्तै छन्’ उनले भने,‘मुर्तिहा जंगलबाट चितुवा बाघ लगायत अन्य जनावरहरु बस्तीमा सजिलै पस्छन् ।’
त्यसैगरी अघिल्लो साता गुलरिया नगरपालिका–८ सुरजपुर स्थित घरको ग्यालेरीमा रहेका १८ महिनाका अनुप विक्रम शाहीलाई चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।