बर्दिया, असोज ४ (फरकसमाचार) / संविधान दिवसको अवसरमा विकास प्रेमी युवा समूह द्वारा आयोजित ‘बृहत रक्तदान’ मा ५१ जनाले रक्तदान गरेका छन् । सुरक्षाकर्मीलगायत सर्वसाधारणले बृहत रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् । ५१ जनाले एक/एक पिन्ट रक्तदान गरेका छन् । ५१ पिन्ट रगत बर्दिया अस्पतालमा राखिने जनाईएको छ । रगत आवश्यक पर्ने बिरामीलाई निशुल्क रुपमा उपलब्ध गराईने छ ।
विभिन्न सहयोगी दताको सहयोगमा गुलरिया नगरपालिका–६ स्थित राधाकृष्ण चोकमा रक्तदान कार्यक्रम गरिएको हो । विकास प्रेमी युवा समूहको आयोजना र नेपाल रेडक्रस सोसाईटी, युथ ब्लड डोनर्सको समन्वयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
‘रक्तदान जिवन दान’ मुल नारालाई मध्यनजर गर्दै विकास प्रेमी युवा समूहले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम सहानिय रहेको गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘आगामी दिनमा रक्तदान कार्यक्रमलाई अझै व्यवस्थित गर्न जरुरी छ’ नगर प्रमुख यादवले भने,‘यस्ता कार्यक्रममा गुलरिया नगरपालिकाले सधैं सहयोग गर्नेछ ।’
हिमाली ईट्टा उद्योग, स्वरोजगार बहुउद्देशीय सहकारी, द गभरमेन्ट सहोजी, अपिक मिनरल वाटर इन्डस्ट्रीज, गुलरिया नगरपालिका–१२, लोटस गार्डेन रिसोर्ट, आरके डिष्ट्रिव्युटर्सको आर्थिक सहयोगमा विकास प्रेमी समूहले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मानविय सेवा तथा विकासको काममा विकास प्रेमी युवा समूह सक्रिय रहेको विकास प्रेमी युवा समूह गुलरिया नगर समितिका अध्यक्ष महेमुद सिद्दीकीले बताए । ‘रक्तको अभाव नहोस्, रक्तको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस्’ उनले भने,‘ रक्तको अभाव खड्किन नदिन विकास प्रेमी युवा समूहले अभियान चलाएको छ ।’ रक्तदान, सरसफाई जस्ता काम गर्दै आएको र आगामी दिनमा लागु औषध, बालविवाह न्युनिकरणको लागि सचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको छ । सबैको साथसहयोगमा आगामी दिनमा यी कामलाई निरन्तरता दिने उनको भनाई छ ।