वार्षिक समिक्षामा गेरुवा गाउँपालिका र दुई स्वास्थ्यकर्मी उत्कृष्ट
बुधबार, असोज ०५, २०७९ मा प्रकाशित

बर्दिया, असोज ५ (फरकसमाचार) / स्वास्थ्य कार्यालयले वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी गेरुवा गाउँपालिका र दुई स्वास्थ्यकर्मीलाई उत्कृष्ट घोषणा गरेको छ । स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न सफल भएको गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजेन्द्र प्रसाद सुवेदी र पाताभार स्वास्थ्य चौकीका लक्ष्मी खत्री उत्कृष्ण भएका हुन् । जिल्लाका आठ वटा स्थानीय तह मध्ये स्वास्थ्य क्षेत्रमा राम्रो काम गरी गेरुवा गाउँपालिका मात्र उत्कृष्ट हुन सफल भएको छ ।

आव ०७८/०७९ मा स्वास्थ्य कार्यालयले सम्पन्न गरेको कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रममा एउटा स्थानीय तह र दुई जना नसिङका कर्मचारी उत्कृष्ट भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा सुचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए । ‘उत्कृष्ट भएको स्थानीय तह र नसिङका कर्मचारी प्रशंसा पत्रले सम्मानित भएका छन्’ जनस्वास्थ्य निरीक्षक चौधरीले भने,‘सबै सुचांकमा राम्रो रेकर्ड बनाउन सफल भएको गेरुवा गाउँपालिका र नसिङका कर्मचारी उत्कृष्ट भएका छन् ।’ आइतबार र सोमबार भएको वार्षिक समिक्षा गोष्ठीमा आठ वटै स्थानीय तह र साझेदार संस्थाले प्रस्तुतीकरण र स्वास्थ्यका विभिन्न सुचकहरुमा छलफल गरेको जनस्वास्थ्य निरीक्षक चौधरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, स्वास्थ्य निर्देशनालयका सहायक निर्देशक मान वहादुर ओलीलगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर