काठमाडौं, कात्तिक १३ / दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका-२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ ।
शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन समेतको उपस्थितीमा भएको छलफलपछि तावाघाट-लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले पीडित पक्षसँग भएको सहमतीअनुसार गर्ग एन्ड गर्ग कम्पनीले १६ लाख (१० लाख भारु) उपलब्ध गराएको जानकारी दिए ।
डीएसपी पाण्डेकाअनुसार उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको थियो भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् । अगामी दिनमा जिलेटिन विस्फोट गराउदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमती पनि भएको छ ।
यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्त बालकको शव बुझन तयार भएका छन् । परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको शव प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार