निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण
आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक २० (फरकसमाचार) / मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि संचारकर्मीसंग अभिमुखीकरण गरिएको छ । निर्वाचन कार्यालयको आयोजनामा संचारकर्मीलाई शनिबार अभिमुखीकरण गरिएको हो । निर्वाचन अवधिमा संचारकर्मी र संचारमाध्यमको भुमिकाको सम्बन्धमा बृहत छलफल गरिएको छ ।

त्यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्या निर्वाचनको लागि निर्वाचन आयोगले हालसम्म गरेको काम र तयारीको बारेमा जनाएईको छ । संचारकर्मीले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने र आचारसंहिता पालना नभएको खण्डमा संचार माध्यमबाट सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने छलफल गरिएको छ ।

निर्वाचन अवधिमा संचारकर्मीले निर्वाचन आचारसंहिता पालना गर्ने र पालना नगर्नेको उजागर गर्ने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । आचारसंहिता उल्लघंन गर्नेको समयमा उजागर गर्दा समयमै सम्बन्धित निकायले ध्यानाकर्षण हुन्छ । सुचना र समाचारको धेरै महत्व हुन्छ । ‘एउटै समाचारले निर्वाचन बिथोल्न र तनाव उत्पन्न हुन सक्छ’ प्रजिअ बास्तोलाले भने, ‘त्यसैले संचारमाध्यममा सुचना प्रर्वाह गर्दा सचेत हुनुपर्छ ।’

निर्वाचनको बेला संचारकर्मीलाई सुचना दिन सहज वातावरण सिर्जना गर्ने मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस कैलास प्रसाद सुवेदीले बताए । निर्वाचन दिन तोकिएको समयमा निश्चित दुरीमा रही संचारकर्मीले समाचार संकलन गर्न पाउने वातावरण बनाउने मुख्य अधिकृत सुवेदीले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचनको लागि गरेको कामहरु, निर्वाचन आचारसंहिता, आम संचारमाध्यम, निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्तिको रोकथाम, आयोगका सूचना सम्पे्रषण संयन्त्र र आयोगको अपेक्षाको बारेमा जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर कुँवरले प्रस्तुतिकरण गरेका थिए ।
अगामी निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्ति, तालिम, निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेको छ । निर्वाचन प्रणाली तर्फको उम्मेदवारी मनोनयन, दावी विरोध उजुरी, नाम फिर्ता, अन्तिम सुची प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने गत असोजमा सम्पन्न भईसकेको छ ।

मतदाता नामावली अद्यावधिक गरि दोहोरो नाम परेका, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाता संख्या घटाईएको निर्वाचन अधिकारी कुवरले बताए । जिल्लामा हाल ३ लाख १५ हजार २ सय ८४ मतदाता संख्या रहेको जानकारी दिए । जसमा महिला १ लाख ६० हजार ४ सय ९९ र पुरुष १ लाख ५४ हजार ७ सय ७९ रहेका छन् । त्यसैगरी मतदान स्थल १ सय ५४ र ३ सय ७६ मतदान केन्द्र रहेका छन् ।

निर्वाचन अवधिमा संचारकर्मी र संचारमाध्यमले कसरी भुमिका निर्वाह गर्ने बारेमा पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यले प्रस्तुतिकरण गरेका थिए ।

संचारकर्मीसंगको अभिमुखीकरणमा प्रजिअ बन्धु प्रसाद बास्तोला, मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस कैशाल प्रसाद सुवेदी, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख (अनुगमन अधिकृत) ध्रुबराज गौतमसहित संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय