बचतकर्ताको रकम डुब्न नदिने संचालक समितिको प्रतिबद्धता
सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक २१ (फरकसमाचार) / नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिले विज्ञप्ती जारी गर्दै बचतकर्ताको रकम डुब्न नदिने प्रतिबद्धता जनाएको छ । सहकारीका अध्यक्ष र व्यवस्थापक सम्पर्क बिहिन रहेपनि अन्य पदाधिकारीले शनिबार विज्ञप्ती मार्फत रकम डुब्न नदिने जनाएका हुन् । गुलरिया नगरपालिका–६ मा मुख्य कार्यालय रहेको सहकारीका अध्यक्ष नगेन्द्र बहादुर रिमाल र व्यवस्थापक संजिव महतो बिना सुचना सम्पर्क बिहिन रहेपनि शेयर सदस्य र बचत कर्ताको रकम डुब्न नदिने सहकारी संचालक समितिका अन्य पदाधिकारीले जनाउँदै ६ बुँदे विज्ञप्ती जारी गरेका छन् ।

अध्यक्ष र व्यवस्थापक सम्पर्क बिहिन भएपनि संचालक समितिका अन्य पदाधिकारी प्रशासनको सम्पर्कमा रहेको जनाईएको छ । सहकारी संचालनका समितिका उपाध्यक्ष गोमा केसी, सचिव मुकुन्द सुवेदी र कोषाध्यक्ष देविराम लामिछाने हस्ताक्षर गरिएको विज्ञप्ती जारी भएको छ । अध्यक्ष र व्यवस्थापक सम्पर्क बिहिन भएपछि उत्पन्न भएको परिस्थितीलाई विज्ञप्ती मार्फत सम्बोधन गरिएको छ ।

अध्यक्ष रिमाल र व्यवस्थापक महतो आर्थिक हिनामिना गरि सम्पर्क बिहिन भएको शेयर सदस्य र बचत कर्ताले जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईसकेका छन् । उजुरी परेपछि सहकारीको सत्यतथ्य छानबिन तथा अनुगमन प्रक्रिया अघि बढेको छ । अनुगमन समितिको प्रतिवेदन नआएसम्म सम्पुर्ण शेयर सदस्य तथा बचतकर्तामा धैर्य गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

बचतकर्ताको रकम हिनामिना भए सहकारी ऐन २०७४ मा व्यवस्था भए अनुसार हिनामिना गर्ने सम्बन्धित व्यक्तिको सम्पत्तिबाट असुल गराउने विज्ञप्तीमा मार्फत जनाईएको छ । सहकारी संचालक समितिको शनिबार भएको बैठकको निर्णय अनुसार मंसिर १५ गतेभित्र सहकारीको लेखा परीक्षण गराउने र मंसिर २९ गतेसम्म साधारणसभा गर्ने विज्ञप्ती मार्फत जनाईएको छ । दैनिक कार्यालय संचालन र ऋण असुली बाहेक अन्य सबै सेवा साधारण सभासम्म स्थगन गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

बिना सुचना अध्यक्ष रिमाल र प्रबन्धक महतो सम्पर्क बिहिन भएपछि आर्थिक कारोबारमा घोटाला भएको अधिकांश बचत कर्ताको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय