राम प्रसाद चौहान
बर्दिया,कात्तिक २५ / बिहिबार दिउँस मन्ध्यान्ह एक बजे । प्रहरी कार्यालय परिसरमा मतदाताको भिँड लाईनमा थियो । चेकजाँच गरेर प्रहरीले मतदातालाई मतदान गर्न पठाईरहेको दृश्य रोमान्चक देखिदै थियो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदी, सशस्त्र प्रहरी प्रमुख जहेरसिंह बुढामगर, राअ प्रमुख प्रज्वल खड्का लगायत बिशिष्ट अधिकृत मतदान गरेर बाहिर निस्कदै थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थितमा एक यूवा र युवति ब्यालेट (मतपेटिका) बक्स लुटेर भाग्दै गर्दा पक्राउँ गरेको दृश्यले त्यहाँ उपस्थित सबैलाई अचम्भित बनायो । हतकडि सहित पक्राउँ गरेर प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाही समक्ष उभ्याउँदा सबैदंग भए ।
जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको मतदान स्थलमा बिहिबार दिउँस देखिएको दृश्यले ध्यान खिच्यो । जिल्ला प्रहरी कार्यालयमा मतदान गरेको भल्को दिने गरी सर्वसाधारण र प्रहरी कर्मचारीको उपस्थितिमा डेमो प्रर्दशन गरिएको छ ।
मतदान स्थलमा जस्तै गरी प्रहरी र म्यादी प्रहरी चुस्तदुरुस्त खटाईएका थिए । निर्माण गरिएको बुथभित्र मतदान अधिकृत, नाम रुजु, रेजा लगाउने र मतपत्र दिने स्थान निर्वाचनमा जस्तै गरी बसेको देखिन्थ्यो ।
निर्वाचनको दिन जस्तै प्रहरी कार्यालयमा निर्माण गरिएको मतदान स्थल देखेर सर्वसाधारण अच्मित भए । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन त मंसिर ४ गते हो । तर प्रहरी कार्यालयमा आजै किन मतदान स्थल बनाईएको अधिकांश सर्वसाधारणको जिज्ञासा रह्यो । जिल्ला प्रहरी कार्यालय भित्र किन प्रहरीले बोलाएको शुरुमा सर्वसाधारण हिचकिचाए । वस्ताविकता थाहा पाएपछि सर्वसाधारणले पनि सहजै मतदान गरे । प्रहरीको नमुना मतदानले निर्वाचनको दिनको झझल्को दिएको छ ।
प्रहरी कार्यालयले आयोजना गरेको नमुना मतदान सम्बन्धि डेमो अत्यन्तै सह्रानिय रहेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । ‘यस्तो डेमोले सुरक्षाकर्मीले मतदान स्थल कसरी बनाउने, डिउटी कहाँ बस्ने, के–के कुरामा ध्यान दिने सिकाएको छ’ प्रजिअ बास्तोलाले भने, ‘साथै मत बदर नगर्न मतदातालाई सिकाएको छ ।’ निर्वाचनलाई प्रभावकारी बनाउन यस्तो नमुना मतदान सबै स्थानीय तहहरुमा निर्वाचन कार्यालयले गरेको छ ।
मतदान अधिकृतहरुको तालिममा पनि नमुना मतदान गरिएको प्रजिअ बास्तोलाले जानकारी दिए । मतदान स्थल निर्माण र मतदाताले मत खसाल्ने सम्म संरचनाको कामको जिम्मा प्रहरी निरीक्षक हृरदेश सापकोटाले लिएका थिए । सचेतना, सुरक्षा चुनौती प्रहरी कर्मचारी अभ्यस्ता डेमो प्रर्दशन गरिएको प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले बताए । म्यादी कर्मचारी मतदान स्थल र केन्द्रमा खटिने उल्लेख गर्दै म्यादी प्रहरी जिम्मेवारीमा खटिदा प्रभावकारी भुमिका निभाउँने प्रहरी प्रमुख शाहीको भनाई छ ।
‘यो डेमोले सर्वसाधारणलाई मतदान कसरी गर्ने सिकाएको छ’ प्रहरी प्रमुख शाहीले भने, ‘साथै प्रहरी र म्यादी प्रहरी कर्मचारीलाई निर्वाचनमा खटिदा कसरी सुरक्षा दिने स्मरण गराएको छ ।’