निर्वाचनलाई मध्यनजर गरी आज राति १२ बजेदेखि सिमा सील हुने
बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ०१ (फरकसमाचार) / मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी आज राति देखि सिमा सील हुनेछ । आज राति १२ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती मार्फत जनाएको हो । मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहनेछ । बर्दिया जिल्लाको ८२ किलोमिटर भारतसंग खुल्ला सीमाना छ ।

नेपाल भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले सीमा सील गरिएको छ । यस अवधिमा जिल्लाको अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा रोक लगाईएको छ ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने उदेश्यले सीमा नाका सील गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी मंसिर ४ गते बिहान ५ बजेदेखि राति १० बजेसम्म अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाइएको छ ।

दमकल, एम्बुलेन्स, शव वाहन, खाद्य सामाग्री बोकेका सवारी साधन, स्वास्थ्य संस्थाका गाडी र निर्वाचन प्रयोजनका लागि अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सार्वजनिक निजी तथा सरकारी सवारी साधन संचालनमा रोक लगाईएको छ ।

त्यसैगरी मंसिर १ गते राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ । मौन अवधि शुरुभएपछि प्रचार प्रसार गर्न नपाउने जनाईएको छ । साथै मंसिर २ गते बिहान ५ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म मदिरालगायत कुनै पनि मादक पदार्थ बिक्री वितरण तथा सार्वजनिक स्थलमा सेवनमा रोक लगाईएको छ । यस्ता कार्य नगर्न प्रशासनले सुचनामा उल्लेख गरेको छ । सुचना विपरीत कार्य गरेको पाईएमा कानुन बमोजिम कारवाही हुनेसमेत सुचना मार्फत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर