बिरामीलाई मासिक पाँच हजार दिने मधुवन देशमै पहिलो नगरपालिका
शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, मंसिर ९ (फरकसमाचार)/ मृगौला प्रत्यारोपण, मृगौला डाईलाइसिस गराई रहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार उपलब्ध गराएर मधुवन देशकै पहिलो नगरपालिका बनेको छ । मन्त्रि परिषदबाट बिरामीलाई मासिक रु ५ हजार दिने निर्णय भएपनि देशको अन्य पालिकामा कार्यान्वयन भएको छैन । तर,मधुवनले कार्यान्वयन गरी देशमै पहिलो बनेको हो । मधुवन नगरपालिकाले मासिक रु ५ हजार उपलब्ध गराएपछि उपचाररत बिरामी खुसी भएका छन् । उपचारमा राहत पुग्ने बिरामीले प्रतिक्रियासमेत दिएका छन् ।

मृगौला प्रत्यारोपण, मृगौला डाईलाइसिस गराई रहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रु ५ हजार उपलब्ध गराउने मन्त्रि परिषदको निर्णयलाई कार्यान्वयन गरी देशकै पहिलो नगरपालिका बनेको श्री मृगौला पिडित सरोकार समाज नेपाल काठमाडौं भक्तपुरका केन्द्रिय अध्यक्ष बलराम सुवेदीले बताए । ‘धेरै प्रयासपछि बिरामीलाई आर्थिक सहायता मिल्ने निर्णय कार्यान्वयन भएको छ’ केन्द्रिय अध्यक्ष सुवेदीले भने,‘अब ठुला रोगबाट ग्रसित दुखी गरिबको उपचारमा थप सहयोग पुग्नेछ ।’

नेपाल सरकारले निर्णय गरेको सुविधालाई मधुवनका बिरामीलाई उपलब्ध गराउन पाउँदा खुसी लागेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । ‘तीन महिनाको ५/५ हजारको दरले प्रत्येक बिरामीको बैंक खातामा रु १५ हजार गईसकेको छ’ नगर प्रमुख भाटले भने,‘तपाईहरु जस्तै टोलमा अन्य ठुला रोगबाट ग्रसित बिरामी भए सेवा लिन खबर गर्नुहोला ।’ नगरपालिकाबाट पाउने सेवा सुविधाबाट कसैलाई बञ्चित हुन नदिने बताउँदै बिरामीहरुको स्वास्थ्य लाभको कामनासमेत नगर प्रमुख भाटले गरे ।

मृगौला प्रत्यारोपण, मृगौला डाईलाइसिस गराई रहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएका ३९ जना बिरामीको खातामा नगरपालिकाले रकम पठाईसकेको मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘साउन, भदौ र असोज गरी तीन महिनाको मुष्ट रु ५ लाख ८५ हजार पठाएका छौं’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने,‘३९ जना बिरामीले रु १५ हजारका दरले पाउनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय