राम प्रसाद चौहान
बर्दिया, मंसिर २५ (फरकसमाचार) / मानव वन्यजन्तुबिच द्वन्द्व न्युनिकरण गर्न खाता सामुदायिक वन समन्वय समितिले अहम भुमिका खेलेको छ । सामुदायिक वन र धार्मिक वनसंग समन्वय गरी वन जोगाउन र मानव वन्यजन्तुबिच द्वन्द्व न्युनिकरण गरी सहअस्तित्व कायम गर्ने भुमिका खाता सामुदायिक वन समन्वय समितिले खेलेको हो । खाता जैविक मार्गलाई मुख्य बाटो बनाएर दिनहुँ वन्यजन्तु आवत जावत गर्छन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट भारतको कतार्निया घाट र कतार्निया घाटबाट बर्दिया राष्ट्रिय निकुञ्जमा हिंस्रक वन्यजन्तु आवत जावत गर्छन् ।
जसले गर्दा खाता जैविक मार्ग आसपास मानव वन्यजन्तुको द्वन्द्व बढी हुने र बढी क्षति भएको देखिन्छ । मानव वन्यजन्तुबिच द्वन्द्व न्युनिकरण गर्न खाता सामुदायिक वनले हिंस्रक वन्यजन्तुको बानी व्यवहारको बारेमा स्थानीयलाई सचेत गराएको छ । हिंस्रक वन्यजन्तुको बानी व्यवहारको बारेमा स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीमा समितिले सचेता फैलाएको छ ।
वन्यजन्तुलाई बस्ती पस्न नदिन वनमै घाँसे मैदान, पानी पोखरी बनाई वन्यजन्तुलाई वनमा रोक्ने प्रयाससमेत गरेको छ । वनमा आश्रित स्थानीयलाई सुरक्षित खोर कार्यक्रम दिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताए । ‘खाता सामुदायिक वन समन्वय समितिमा ३६ सामुदायिक वन र ३ धार्मिक वन गरी ३९ वटा वन आबद्ध छन्’ अध्यक्ष गुरुङ्गले भने, ‘वनलाई जोगाउन र मानव वन्यजन्तुबिच द्वन्द्व न्युनिकरण गर्न हामी निरन्तर लागि परेका छौं ।’ उक्त काममा सघाउन उनले आग्रह समेत गरेका छन् ।
वनमा आश्रित व्यक्तिहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए । मानव वन्यजन्तुबिच द्वन्द्व बढ्दो छ । मानव वन्यजन्तुबिचनको द्वन्द्व न्युनिकरण गर्न डिभिजन वन कार्यालयले मात्र सम्भव छैन । मानव वन्यजन्तुबिचको द्वन्द्व न्युनिकरण गर्न सबैको आवश्यक पर्छ । ‘वन्यजन्तु वस्ती पस्न नदिन वन कार्यालयले मेस वायरलागयत विभिन्न प्रयास गरेको छ’ प्रमुख बिडारीले भने,‘तर,मेस वायर लगाएको पोल ढल्दा स्थानीयले चासो दिदैनन् ।’ जबसम्म राज्यले गरेको काम स्थानीयले अपनत्व लिदैनन् तबसम्म संरक्षणमा चुनौती रहने प्रमुख बिडारीको भनाई छ ।
खाता जैविक मार्ग पहिलाको भन्दा घना भएको प्रस्तुतिकरणमा तस्विर देखाउँदै डब्लु डब्लु एफका कार्यक्रम अधिकृत गौतम पौडेलले बताए । ‘खाता जैविक मार्गमा दिनहुँ वन्यजन्तुको मुभमेन्ट हुन्छ’ कार्यक्रम अधिकृत पौडेलले भने,‘यस ठाउँलाई व्यवस्थापन गरे बढी भन्दा बढी पर्यटन भित्रियाउने सम्भावना छ ।’ खाता जैविक मार्गमा हुलाकी राजमार्ग छ । जसले गर्दा वन्यजन्तु दुर्घटनामा परेका छन् । यस्ता ठाउँको राज्यले अध्ययन गरि वातावारण मैत्री संरचना निर्माण गर्न जरुरी रहेको पौडेलको भनाई छ ।