अस्पतालले ३ सय ३८ सेवाग्राहीलाई निःशुल्क रगत उपलब्ध गरायो
बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर २८ (फरकसमाचार) / बर्दिया अस्पतालले चार महिनामा ३ सय ३८ जना सेवाग्राहीलाई निःशुल्क रगत उपलब्ध गराएको छ । साउन देखि कात्तिकसम्म ३ सय ३८ जना बिरामीलाई निःशुल्क रगत उपलब्ध गराएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको कार्यक्रम अन्तर्गत बर्दिया अस्पतालले निःशुल्क रगत उपलब्ध गराएको छ ।

यो कार्यक्रम आएदेखि बिरामीले आफ्नै खर्चमा रगत किन्नुपर्ने बाध्यता हराएको छ ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीले पहिला देखि निःशुल्क रगत पाएपनि अन्य बिरामीले पाएका थिएनन् । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशले अन्य बिरामीको लागि पनि निःशुल्क रगत उपलब्ध गराएको छ ।

अस्पताल र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाद्वारा संचालित रगत संकलन तथा भण्डारण केन्द्र बिच साउनदेखि सेवाग्राहीलाई निःशुल्क रगत दिने सम्झौता भएको थियो । सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष नारायण गौतम र रेडक्रसको तर्फबाट जिल्ला शाखाका सभापति कृष्णप्रसाद गौतमले हस्ताक्षर गरेका थिए । रेडक्रसले विरामीलाई आवश्यकता अनुसार रगत उपलव्ध गराउने र त्यसको सोधभर्ना अस्पतालले गर्ने सहमति अस्पताल र रेडक्रस बीच भएको थियो । सोही सहमति अनुसार अस्पतालले सेवाग्राहीलाई निःशुल्क रगत उपलब्ध गराईरहेको छ ।

चार महिनामा ८३ जना आमा सुरक्षाका र २ सय ५५ अन्य सेवाग्राहीलाई निःशुल्क रगत उपलब्ध गराएको बर्दिया अस्पतालका वरिष्ठ मेसु डा. सुभाष पाण्डेयले बताए । ‘पहिलो चौमासिकमा ३ सय ३८ सेवाग्राही निःशुल्क रगत उपलब्ध गराएका छौं’ मेसु पाण्डेयले भने,‘पहिलो चौमासिकमा जम्मा रु ३ लाख ६३ हजार ६ सय बराबरको अस्पतालले निःशुल्क रगत उपलब्ध गराएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर