लामो समयपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दिया आफ्नै कार्यालय भवनमा
बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, मंसिर २९ (फरकसमाचार) / नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले ३२औं वर्षमा आफ्नो कार्यालय भवन ठड्याउन सफल भएको छ । गुलरिया नगरपालिका–७ बदलुपुर स्थित नेपाल पत्रकार महासंघ जिल्ला शाखाले बुधबार नवनिर्मित भवनको उद्घाटन गरेको हो । नवनिर्मित कार्यालय भवनको उद्घाटन गरि ३२औं साधारण सभासमेत सम्पन्न गरेको छ ।

विस ०४८ सालमा बर्दियामा नेपाल पत्रकार महासंघको स्थापना भएपनि अहिलेसम्म कार्यालय भवन थिएन । अहिलेसम्म पत्रकार महासंघ झोलामा सिमित रहेको थियो । अहिलेसम्म पत्रकार महासंघले कुनै कार्यक्रम गर्दा अन्य कार्यालयसंग हल माग्ने वा भाडामा लिएर कार्यक्रम संचालन गर्ने बाध्यता अब देखि हटेको छ । झोलामा सिमित रहेको महासंघ अब देखि आफ्नै कार्यालयबाट सेवा संचालन गर्ने भएको छ ।

गुलरिया नगरपालिका–७ निवासी स्व.शिव प्रसाद पोखरेकी धर्मपत्नी स्व.लक्ष्मीदेवी तथा ईन्दीरादेवी पोखरेलले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियालाई १२ धुर जग्गा दान गरेकी थिईन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका पुर्व अध्यक्ष मिनराज शर्माको कार्यसमितिले भवन निर्माणको लागि जग्गा प्राप्ती गरेको थियो । भवन निर्माणको लागि जग्गा प्राप्ती भएपछि पुर्व अध्यक्ष राजेन्द्र धितालको पालाको कार्यसमितिले शुभारम्भ गरेको भवन निर्माण कार्य यादव प्रसाद आचार्यको कार्यसमितिले निर्माण कार्य सम्पन्न गरेको छ । गुलरिया नगरपालिकाको एकल आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको कार्यालय भवन निर्माण भएको छ ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले पत्रकार महासंघको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । नेपाल पत्रकार महासंघको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै आगामी दिनमा संचारकर्मीको विकासको लागि गुलरिया नगरपालिका सहकार्य गर्ने नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘गुलरिया नगरपालिकाको एक्लो आर्थिक सहयोगमा पत्रकार महासंघको कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ’ नगर प्रमुख यादवले भने,‘अझै डेकोरेशन,फर्निचरलगायत धेरै काम बाँकी छ ।’ जिल्लाका अन्य पालिकाले सहयोग गर्छन भने लिनुस् । यदि अन्य पालिकाले महासंघलाई सहयोग नगरे गुलरिया नगरपालिकाले थप सहयोग गर्ने नगर प्रमुख यादवले बताए ।

कार्यालय भवन निर्माण भएपछि झन् जिम्मेवारी बढेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले बताए । ‘भवन निर्माणले हामी धेरै खुसी छौं’ अध्यक्ष आचार्यले भने,‘अब दैनिक कार्यालय संचालन व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो काँधमा थपिएको छ ।’ महासंघले प्राप्ती गरेको जग्गा र भवनको संरक्षण प्रर्वधन गर्न हाम्रो जिम्मेवारी हो । महासंघलाई जग्गा उपलब्ध गराउने र कार्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने गुलरिया नगरपालिकालाई अध्यक्ष यादवले धन्यवादसमेत व्यक्त गरे ।

धेरै प्रयासपछि आज नेपाल पत्रकार महासंघले कार्यालय भवन पाउन सफल भएको पुर्व अध्यक्षहरुले कार्यक्रममा भनाई राखेका थिए । लामो समयपछि पत्रकार महासंघले कार्यालय भवन पाउन सफल भएकोमा कार्यक्रमका सहभागीले शुभकामनासमेत व्यक्त गरेका थिए ।

गुलरिया नगरपालिकाको तर्फबाट नगर प्रमुख मुक्तिनाथ यादव, जग्गा दाता स्व.लक्ष्मीदेवी तथा ईन्दीरादेवी पोखरेलको सुपुत्र शुभाष पोखरेल तथा पुर्व अध्यक्षहरुलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखाले प्रमाणपत्र तथा खादाले सम्मानित गरेको छ ।

कार्यलय भवन समुद्घाटन कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष ऐमनाथ घिमिरे, उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे, जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहरा, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधिलगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय