हाईड्रोसिल बिरामीहरुको बर्दिया अस्पतालले निशुल्कमा अप्रेशन गर्दै
मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, पुस ५ (फरकसमाचार) / हाईड्रोसिल बिरामीहरुको अस्पतालले निशुल्कमा अप्रेशन गर्ने भएको छ । चालु आर्थिक वर्षमा १ सय २० जना हाईड्रोसिल बिरामीहरुको अस्पतालले निशुल्कमा अप्रेशन गर्ने जनाएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय आर्थिक वर्ष ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बर्दिया अस्पातलले १ सय २० जना हाईड्रोसिल बिरामीको निशुल्कमा अप्रेशन गर्ने जिम्मेवारी पाएको छ । हाईड्रोसिलका बिरामीले सेवा लिन आउँदा नागरिकताको प्रतिलिपि आवश्यक पर्ने अस्पतालले जनाएको छ । हाईड्रोसिलका बिरामी अस्पतालको १२ नंम्बर कोठामा सम्पर्क गरि सेवा लिन सक्ने जनाईएको छ ।

गत वर्ष ९० जना हाईड्रोसिल बिरामीहरुको बर्दिया अस्पतालले निशुल्कमा अप्रेशन गरेको बर्दिया अस्पतालका वरिष्ठ मेसु डा. सुभाष पाण्डेयले बताए । ‘गत वर्ष अस्पतालले निशुल्क अप्रेशन गर्ने प्रयाप्त कोटा पाएको थिएन’ मेसु पाण्डेयले भने,‘जसले गर्दा निशुल्क अप्रेशनबाट सेवाग्राही छुटेका थिए ।’ यस वर्ष बर्दिया अस्पतालले लुम्बिनी प्रदेशका अस्पताल मध्ये सबै भन्दा बढी कोटा प्राप्त गरेको छ ।

१ सय २० जना हाईड्रोसिलका बिरामीले समयमा सम्पर्क गरी सेवा लिन सक्ने मेसु पाण्डेयले जनाए । डाईड्रोसिल अप्रेशनसंग सम्बन्धित सबै जाँचसमेत निशुल्क गरिने छ । बिरामीको संख्याको आधारमा हप्तामा दुई पटक अप्रेशन गरिनेछ । मंगलबार र बिहीबार दुई दिन अप्रेशन गरिने बिरामीको चाप बढेमा थप दिनमा अप्रेशन गरिने वरिष्ठ मेसु डा.पाण्डेयले जानकारी दिए ।

गत वर्ष अस्पतालले पाएको कोटाको जिम्मेवारी राम्रोसंग निभाउँदा यस वर्ष अप्रेशन गर्ने कोटा बढी पाएको अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद गौतमले बताए । ‘अस्पतालको स्तरोउन्नतीका लागि अस्पतालको सम्पुर्ण टिम लागि परेको छ’ अध्यक्ष गौतमले भने,‘अस्पतालको सेवा अझै प्रभावकारी बनाउन सबैको सहयोग जरुरी छ ।’ अस्पतालमा जनशक्तिको अभाव छ । अस्पतालमा आवश्यक जनशक्ति ल्याउन मेसुलगायत आफु चारैतिर भौतारी रहेको अध्यक्ष गौतमले सुनाए । हामी जति भौतारीए पनि सबै क्षेत्रबाट आश्वासन पाईन्छ तर, सम्बन्धित निकायले जनशक्ति उपलब्ध नगराएको अध्यक्ष गौतमले भनाई राखे ।

अहिले अस्पतालले ६५ बेडको सेवा प्रभाव गरिरहेको छ । आगामी दिनमा एक सय बेडको अस्पताल बनाउने दृढ बिश्वासकासाथ अस्पताल टिम अघि बढेको छ । यसको लागि सहयोग पु¥याउन निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यलगायत सबैले ध्यान दिन आवश्यक रहेको अध्यक्ष गौतमले सुझाए । सबैले आ–आफ्नो स्थानबाट सहयोग गरे आगामी दिनमा डाक्टर बाहेकका अन्य स्वास्थ्यकर्मी जनशक्ति अस्पतालबाट उत्पादन गर्ने अध्यक्ष गौतमले विश्वास व्यक्त गरे ।
१ सय २० जना हाईड्रोसिलका बिरामीको अप्रेशन उपचारको लागि सात हजार बराबरको अस्पतालले सेवा दिने छ । सेवा दिए वापत अस्पतालले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयमा शोधभर्ना पठाउने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर