राम प्रसाद चौहान
बर्दिया, पुस ८ (फरकसमाचार) / जोखिम पुर्ण यात्रामा रहेका बालबालिका तथा महिलाहरुलाई सिमानाबाट उद्दार गरिएको संख्या बढ्दो देखिएको छ । जोखिम पुर्ण यात्रामा रहेका बालबालिका तथा महिलाहरुलाई सिमानाबाट आवश्यक परामर्श प्रदान गरि आवधिक गृहमा प्रवेश गराईएको संख्या बढ्दो देखिएको हो । माइती नेपाल बर्दियाको आयोजना, फ्रिअगर्लको सहयोग र नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा बिहिबार आयोजित मानव बेचबिखन ओसारपसार नियन्त्रणका लागि संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकले संख्या बढ्दो देखाएको छ । बालबालिका तथा महिलाहरु आफन्त, छिमेकी तथा अन्य व्यक्तिको प्रलोभनमा परि भारततर्फ वा तेस्रो मुलुकतर्फ गईरहेको अवस्थामा माइती नेपालले सोधपुछ गरि आवश्यक परामर्श गरि फर्ता गरिरहेको छ ।
माइती नेपालले विगत ७ वर्ष देखि बर्दियामा बालबालिका तथा महिलाहरुको अधिकार, सम्मान र विकासको लागि मुख्य उदेश्यकासाथ विभिन्न अभियान चलाईरहेको छ । बालबालिका तथा महिलाहरुको बेचबिखन तथा ओसारपसारलाई निरुत्साहित गर्न माइती नेपालले खुला नाकामा सुचना तथा परामर्श केन्द्रको स्थापना गरि निगरानी गरिरहेको छ । गुलरिया नगरपालिकाको सुरजपुर, मधुवन नगरपालिकाको शक्तिपुर र बढैयाताल गाउँपालिकाको बलैगाउँ नाकामा सुचना तथा परामर्श केन्द्रको स्थापना गरि बालबालिका तथा महिलाहरुको ओसार पसारलाई निरुत्साहित गर्न निगरानी गरेको छ ।
सन् २०२२ मा माइती नेपाल बर्दियाले ४ सय ४३ जनालाई सिमानाकाबाट उद्दार गरि आवधिक गृहमा प्रवेश गराएको र आवश्यक परामर्श दिएको बिहीबार सार्वजनिक गरिएको तथ्यांकले पुष्टि गर्छ । यो संख्या विगतका वर्ष भन्दा बढ्दो पाईएको छ । यस संख्यालाई कम गर्न जनचेतना फैलाउनु आवश्यक छ ।
एक वर्षको अन्तरालमा सिमानाकाबाट उद्दार गरि आवधिक गृहमा प्रवेश गराईएको र आवश्यक परामर्श प्रदान गरिएको संख्या मध्ये गुलरिया नगरपालिकाका सबै भन्दा बढी रहेको माइती नेपालकी कार्यक्रम संयोजक गायत्री रिमालले बताईन् ।
४ सय ४३ मध्ये गुलरिया नगरपालिकाका ९८, मधुवन नगरपालिकाका ७०, बढैयाताल गाउँपालिकाका ४८, बाँसगढी नगरपालिकाका ५०, राजापुर नगरपालिकाका ४, बारबर्दिया नगरपालिकाका ३८, ठाकुरबाबा नगरपालिकाका ११ र गेरुवा गाउँपालिकाका ४ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन् । १८ वर्ष माथिका १ सय ७० जना छन भने १८ वर्षमुनिका २ सय ७३ जना रहेको कार्यक्रम संयोजक रिमालले जानकारी दिईन् ।
त्यसैगरी मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई ४ सय ३९ जनालाई पारिवारक पुर्नरमिलन गराईएको छ । श्रम र यौन शोषणमा परेकी एक जनालाई भारतबाट माइती नेपालले उद्दार गरेको छ । मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे सिमानाकाबाट परामर्श दिई ७४ जनालाई घर फिर्ता गरिएको छ । १ सय ८ वटा खोजतलासको निवेदन परेकोमा ११ जनालाई फेला पारेको तथ्यांक छ । त्यसैगरी घरेलु हिंसाका १ सय ९५ केस आएकोमा १ सय ७७ वटा समाधान गरिएको छ । एक वर्षमा २ जना किशोरीलाई विभिन्न देशबाट उद्दार गरि सिपमुलक तालिम दिई आत्मनिर्भर बनाएको छ । बेचबिखनका २ घटना दर्ता भएकोमा आवश्यक परामर्श गरिएको छ । जर्बरजस्ती करणीका ३६ वटा मुद्दा दर्ता भएकोमा आवश्यक परामर्श गरिएको कार्यक्रम संयोजक रिमालले जानकारी दिईन् ।