गुलरिया बजारमा एक साता देखि चितुवा पाँहुना
शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, पुस ८ (फरकसमाचार)/ एक साता देखि गुलरिया बजारमै चितुवा बाघले बासस्थान बनाएको छ । स्थानीयले प्रत्यक्ष रुपमा चितुवालाई देखेपछि घटना सार्वजनिक भएको थियो । स्थानीयले चितुवा देखिएको भनेपनि सुरुमा कतिले पत्याएका थिएनन् । एक साता अघिदेखि गुलरिया नगरपालिका–५ पुरानो नेपाली सेनाको ब्यारेक रहेको स्थानमा वयस्क चितुवा बाघ बस्दै आएको छ । पहिला नेपाली सेनाले बनाएको बङ्करमा चितुवाले आफ्नो बासस्थान बनाएको पत्ता लागेको छ ।
वन कार्यालयको अगुवाईमा चितुवाको लोकेशन पत्ता लगाउन बिहीबार सो स्थानमा क्यामरा जडान गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले बताए । ‘क्यामरामा पनि चितुवा देखिएको थियो’ सुचना अधिकारी शर्माले भने,‘आज सो स्थानको झाडी फँडानी गर्दा पनि हाम्रो कार्यालयबाट खटिएका कर्मचारीले प्रत्यक्ष देखेका छन् ।’ वयस्क चितुवा देखिएको तर्फको झाडी फडानी गर्न रोकि अर्को तिरबाट झाडी फडानी गर्ने काम जारी छ ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट टोली आएको छ । चितुवालाई डार्ट गर्न प्रयास हुँदै छ । आज अबेर भएको छ । सकेसम्म आजै डार्ट गर्ने हाम्रो योजना छ । अबेर भए चितुवालाई निगरानीमा राख्ने र भोली डार्ट गर्ने सुचना अधिकारी शर्माले जानकारी दिए ।

बजारमा चितुवा बाघ देखेपछि स्थानीय त्रसित भएका थिए । गुलरियाको बिच बजारमै चितुवा पाँहुना भएपछि स्थानीय जाग्राम बस्नु पर्ने बाध्यता सिर्जना भएको थियो । घरको आँगनमा चितुवा देखिन थालेपछि स्थानीयले घर पालुवा जनावरलाई बचाउन निद्रा बिथोलिएको थियो । घरमा पालेको दुई वटा कुकुर र एउटा बाख्रालाई चितुवाले सिकार बनाएपछि स्थानीय झन् त्रसित भएका थिए । चितुवालाई छिट्टै नियन्त्रणमा लिन स्थानीय डिभिजन वन कार्यालयमा पुगेका थिए । बजारमै चितुवा बस्दै आएको जानकारी प्राप्त गर्न साथ डिभिजन वन कार्यालयले चितुवालाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषसंग समन्वय गरेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय