बर्दिया, पुस ११ (फरकसमाचार) / गुलरिया बजार स्थित नेपाली सेनाको पुरानो ब्यारेकमा बस्दै आएको चितुवा हराएको छ । एक साता सम्म गुलरिया बजारमा बासबसिरहेको चितुवा कता लाग्यो भन्ने बिषय सम्बन्धित निकायलाई चासो बढेको छ । चितुवा बस्दासम्म कुकुर लैजाने र घर आँगनमा झुल्किने चितुवा एक्कासी कहाँ हराए होला ? किन पक्राउँ गर्न सकिएन । अगामी दिनमा त्यो ठाउँ कति सुरक्षित छ ।
यस्तै यस्तै प्र्र्रश्नको उत्तर स्थानीयले खोजी रहेका छन् । एक साता लामो बसाई सकेर बस्ती नजिकको झाडी चितुवाले छाडेको वन डिभिजन कार्यालयका प्रमुख प्रबिण बिडारीले बताए । बस्ती पसेको चितुवा र स्थानीयको सुरक्षाका लागि चितुवालाई नियन्त्रणमा लिने प्रयास असफल भएको उनी बताउँछन् । सदरमुकाम नजिकको झाडीमा चितुवा देखियो, उनले भने, ‘क्यामरामा कैद भएको चितुवा अहिले बासस्थान छाडेर भागेको अनुमान गरेका छौं ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को प्राबिधिक टोली र वन डिभिजनको टोलीले चितुवा समात्न खोजे पनि फेला नपारेको बिडारीले दाबी गरे । चितुवाले बासस्थान बनाएको बनमाराको झाडी र नेपाली सेनाले बनाएको बंकरमा चितुवा लुकेको आंशकामा सफाई र बंकर ध्वस्त पारेपछि उक्त क्षेत्रमा चितुवा नदेखिएको उनले जानकारी दिए । ‘अहिले कता भाग्यो पत्ता लागेको छैन’ उनले भने ।
करिब एक साता अघिदेखि सो स्थानमा बस्दै आएको चितुवा कता गयो खुलेको छैन । नजिकै ठुलो वनजंगल नभएकोले बजारमै कतै लुकेर बस्न सक्ने स्थानीयले आशंका गरिरहेका छन् । चितुवा जंगलमा गयो की कतै बस्ती नजिक छ स्थानीयमा ढुकचुक छ । अहिले त्यो चितुवा कता गयो जनचासो बढेको छ । यसरी बजारमै चितुवा बस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
गुलरिया नगरपालिका–५ नेपाली सेनाको पुरानो ब्यारेकमा वयस्क चितुवा बाघ बस्दै आएको थियो । नेपाली सेनाले बनाएको बङ्करमा चितुवाको बासस्थान थियो । सो स्थानको झाडी सरसफाई भएपछि राती कता भाग्यो पत्ता लागेको छैन ।
बर्दिया बाघको जिल्ला भनेर चिनिन्छ । पहिलाको भन्दा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको बाघ गणनाले पुष्टि गरेको छ । पाटे बाघसंगै अन्य प्रजातिका बाघको संख्या पनि बढेको आँकलन छ ।
बनमारासहितको झाडी सफाई गर्दा राती चितुवा कता भाग्यो पत्ता नलागेको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए । चितुवाको अस्थायी बासस्थान सरसफाई गरेपछि कता लाग्यो एकिन छैन । ‘सिकारको लागि वा घाईते अवस्थामा बस्ती नजिक झाडीमा ढुकेर बस्ने चितुवाको स्वभाव हुन्छ’ प्रमुख बिडारीले भने,‘बस्ती नजिक बस्दा सजिलै कुकुर बाख्रालाई समात्न सक्छ ।’ शिकारको लागि पनि चितुवा विश्वास नगरेको ठाउँमा बस्न सक्छ । त्यसैले आफ्नो घर वरिपरिका झाडी सफाई राख्न प्रमुख बिडारीले आग्रहसमेत गरे ।