बर्दिया, पुस १२ (फरकसमाचार) / सरकारी तथा गैरसरकारी निकायले मानव अधिकार काममा सक्रिय हुँदा हुँदै समाजमा घटनाक्रम बढ्नु ठुलो चिन्ताजनक रहेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताएका छन् । इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकको सम्पादन पुर्व समिक्षा कार्यक्रमको सम्बोधन गर्दै सोमबार प्रजिअ बास्तोलाले सो कुरा बताएका हुन् ।
विभिन्न संघसंस्था, सरकारी कार्यालय तथा स्थानीय जनप्रतिनिधि मानव अधिकार काममा सक्रिय हुँदा हुँदै समाजमा उल्लघनका घटना घट्नु चिन्ताजनक रहेको छ । समाजमा मानव अधिकार उल्लघनका धेरै घटना घटिरहेका छन् । प्रहरीमा उजुरी पर्ने र प्रहरीले अनुसन्धानबाट पत्ता लगाउने घटना मात्र बाहिरिएको प्रजिअ बास्तोलाले सुनाए । ‘मानव अधिकार उल्लघन सम्बन्धि घटना पुस्तकमा मात्र लेखेर हुदैन’ प्रजिअ बास्तोलाले भने,‘घटनालाई कम गर्न सबैले चासो देखाएर सचेतना फैलाउनु आवश्यक छ ।’ इन्सेकले मानव अधिकार सम्बन्धि प्रत्येक वर्षको घटनाक्रमलाई अभिलेखिकरण गर्ने कामले समाजको स्थिती बुझाउन मद्दत पुग्ने प्रजिअ बास्तोलाको भनाई छ ।
त्यस्तै मानव अधिकार सम्बन्धि इन्सेकले संकलन गरेको विवरणले समाजलाई चित्रण गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले बताए ।
सन् २०२२ जनवरी देखि जुनसम्मको मानव अधिकार घटनाको तथ्यांक इन्सेकले सार्वजनिक गरेको छ ।
सुरक्षाकर्मीको गोलीबाट १ को मृत्यु, महिला हत्या २, महिला हत्या प्रयास १, महिला आत्महत्या दुरुत्साहन १, महिला बलात्कार २०, महिला बलात्कार प्रयास ४, दुव्र्यवहार ५, बालिका बलात्कार ३६, बालिका बलात्कार प्रयास ८, मानव बेचबिखन २, बालविवाह ३ र बहुविवाह ६ वटा घटना रहेको ईन्सेकका प्रतिनिधि मान बहादुर चौधरीले जानकारी दिए ।
इन्सेकले विगतबाट मानव अधिकार उल्लघन घटना अभिलेखलाई समेटि वार्षिक पुस्तक सार्वजनिक गर्दै आएको छ । छुटेका घटनालाई वर्षपुस्तकमा समावेश गर्ने चौधरीले जनाए । इन्सेकले सोमबार प्रहरी, मानव अधिकारकर्मी, नागरिक समाज संजाल र संचारकर्मीसंग वर्षपुस्तकको सम्पादन पुर्व समिक्षा गरेको छ ।