ह्वात्तै बढेको ठन्डीले जनजीवन कष्टकर बन्दै
बुधबार, पुष १३, २०७९ मा प्रकाशित

बर्दिया, पुस १३ (फरकसमाचार) / ह्वात्तै बढेको ठन्डीले बर्दियाको जनजीवन कष्टकर बन्दै गएको छ । बिहान बाक्लो हुस्सु लाग्नुका साथै कठ्याग्रिने ठन्डीले जनजीवन अस्तव्यस्त बन्दै गएको हो । मंगलबार देखि एक्कासी बढेको ठन्डीले जनजीवन प्रभावित भएको छ । ठन्डी बढेसंगै गुलरिया बजारमा बिहान देखि देखिने चहल पहलमा कमि आएको छ । बादली र हुस्सुका कारण हिजो देखि घाम देखिएको छैन । त्यसैमा चिसो हावाको सिरेटोले थुरथुर काम्ने बनाएको छ ।  मंगलबार देखि अत्यधिक चिसो महसुस भएको छ ।

गुलरिया बजारमा आगो बालेर ताप्दै गरेको दृश्य जताततै देखियो । मंगलबार एक्कासि अत्यधिक चिसो बढेको नेहा खाजा घरकी संचालक मन्जुले बताईन् । ‘अत्यधिक चिसो बढेको छ’ मन्जुले भनिन्,‘बजारमा काम विषेशले आएका मानिसहरु चिसोले कठ्यांग्रिएका छन् ।’ पसल अगाडि सानो आगो बल्दा काम विषेशले बजार आएका सर्वसाधारणले हात ताप्ने मौका पाए । सम्बन्धित नियकाले चोक चौराहामा आगो बाल्ने काठको व्यवस्था गरेको भए काम विषेशले बजार आएका सर्वसाधारणले सहजै हात तताउन पाउँथे मन्जुले सुनाईन् । चिसो बढेकाले ठाउँ ठाउँमा आगो बाल्नु पर्ने मन्जु जस्तै अन्य स्थानीय व्यबसायीको भनाई छ ।

एक्कासी चिसो बढेपछि ठाउँ ठाउँमा सर्वसाधारणले दाउराको जोहो गरेर आगो ताप्न थालेका छन् । ठन्डी ह्वात्तै बढ्दा मोरनिङ्ग वाकको लागि बिहान निस्कने सर्वसाधारण बाटोमा कम देखिदै गएका छन् । बजारमा बिहानै सम्पुर्ण पसल खुल्ने गर्थे र किनमेलका लागि सर्वसाधारणको चहल पहल देखिन्थ्यो । बढेको ठन्डीले बजारको चहल पहल ढिलो देखिन थालेको छ । हुस्सुका कारण गाडीमोटर दुर्घटनामा पर्ने जोखिम पनि बढ्दै गएको छ । अत्यधिक चिसोका कारण बालबालिका र बृद्धा बढी प्रभावित भएका छन् । चिसो बढेको कारण गुलरियाका सरकारी कार्यालयमा मंगलबार सेवाग्राहीको संख्या पातालिएको छ । चिसो छल्न सर्वसाधारणले आ–आफ्ना घरमा आगोको सहारा लिनु प¥र्यो ।

चिसो बढेसंगै बालबालिका, बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् । चिसोबाट बच्न बाक्लो कपडा लागउने र तातो पानी खानेसमेत सुझाएका छन् । चिसो बढ्ने क्रममा रहेकोले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय