चितुवा बस्तीमा पल्किदाँ स्थानीय त्रसित
सोमबार, पुष १८, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, पुस १८ (फरकसमाचार) / भारतिय जंगलको चितुवा नेपाली बस्तीमा पल्किदाँ स्थानीय त्रसित भएका छन् । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोलमा चितुवा पल्किदाँ स्थानीय त्रसित भएका हुन् । स्थानीयका अनुसार मुर्तिहा जंगलको चितुवाको बास नजिकैको उखुबारीमा छ । उखुबारीमा बासस्थान बनाएको चितुवा साँझ पर्नसाथ बस्ती नजिक देखा पर्न थालेको छ । राती बस्ती नजिकै चितुवा कराएको आवाज सुन्दा स्थानीयको होस हावास उडेको छ । उखुबारीमा बासस्थान रहेको चितुवाले मानिसलाई आक्रमण गर्न सक्ने जोखिम उत्तिनै बढेको छ । चितुवा दिनहुँ बस्तीमा पस्न थालेपछि स्थानीयलाई बालबच्चा र गाईवस्तु बचाउन रातभरि जाग्राम बस्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

शनिबार राती ११ बजे सर्जुनदी टपरा टोल स्थित बाबुलाल धोबीको गाई चितुवाले खायो । चार दिन अघि मात्र चितुवाले गाईको बाँछोलाई घिसारेर करिब पाँच सय मिटर दक्षिण तर्फ लगेर खाएको थियो । पाचौं दिनमा सोही स्थानमा बाँधेको दुई वटा गाई मध्ये एउटा गाई खाएको छ । गाईको पछाडि तर्फको केही भागको मासु चितुवाले खाएको छ ।

नजिकै बाँधिएको अर्को गाईको फरक किसिमको चाल पाउँदा आफु घर बाहिर निस्किँदा चितुवाले गाई मारेर खाईरहेको बाबुलाल धोबीले बताए । ‘हामीले हल्ला गर्दा समेत भागेको थिएन’ धोबीले भने, ‘टर्च बालेर ढुङ्गा मुढा फाल्दा मात्र भाग्यो ।’ भग्न त भाग्यो तर, पर गएर कराई रहेको थियो । अर्को गाईलाई बचाउँन आफु रातभरि आगो बालेर जाग्राम बसेको धोबीले बताए । बाँछो लगेको पाँच दिन नबित्तदै गाईलाई मा¥यो । अब चितुवा पल्क्यो । अब चितुवा बस्तीमा पल्क्यो पालेका जनावरलाई बचाउन जाग्राम बस्ने अवस्था आएको धोबीले सुनाए ।

पालेका गाई अरुले छोड्दै भगाउँदै गर्दा आफुले दूध खाने रहरले राखेका गाई चितुवाले शिकार बनाईरहेको प्रेमा धोबीले बताईन् । ‘महँगो जबानामा किनेर दूध खान सकिदैन’धोबीले भनिन्,‘घरमै पालेको गाईले दूध दिनथालेपछि चितुवाले गिद्धेनजर लगायो ।’ गाई बियाँएको २० दिन नपुग्दै बाँछोलाई चितुवाले लग्यो । बाँछो खाएको पाँच दिन नटडकिदै अर्को गाई पनि खायो । ‘बालबच्चाको लागि घरमै दूध होला भनेर गाईको लागि बाख्रा बेचेर पराल ल्याएँ’ धोबीले आँसु झार्दै भनिन्,‘बाख्रा मासेर ल्याएको पराल नसकिदै चितुवाले गाई सक्ने भयो ।’ अब चितुवाबाट बालबच्चालाई जोगाउन मुस्किल भएको धोबीले सुनाईन् ।

शनिबार राती चितुवा गाउँकै वरिपरि घुर्किदै भौतारिरहेको बालकराम लोधले बताए । सर्जुनदी टपरा बस्तीबाट करिब २ सय मिटर दक्षिण तर्फ लोधको बंगला छ । ‘बंगला नजिकै चितुवा कराएको सुन्दा आफ्नो गाई भैंसी जोगाउन रातभरि जाग्राम बसे’ लोधले भने,‘चितुवा त बस्तीमा पसेर गाई खाए छ ।’ बस्ती नजिकै ठुलो उखुबारी छ । बस्ती नजिकै बाघ बस्न थालेपछि मानिस र घर पालुवा जनावरलाई खतरा बढेको छ । बाख्रा, बाँछो र गाईलाई खाएर चितुवा पल्क्यो । अब घर पालुवा जनावरलाई जोगाउन सकिदैन । अब म पनि पालेका गाई भैंसीलाई बाध्यतामा हटाउनु पर्ने लोधको भनाई छ । करिब दुई महिना अघि सोही टोलकी लक्ष्मी सुनारको खोरमा बाँधेको बाख्रा चितुवाले तानेर खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय