बर्दिया, पुस २२ (फरकसमाचार) / मापदण्ड पुरा नभएका अबैध रुपमा संचालन भएका जिल्ला स्थित क्रसर उद्योगलाई प्रशासनले अनिश्चितकालको लागि बन्द गरेको छ । अर्को निर्णय नभएसम्म मापदण्ड विपरीत संचालन भएका क्रसर उद्योग बन्द रहने जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ती मार्फत जनाएको हो ।
जिल्ला भित्र संचालन भएका क्रसर उद्योगको नियमन गर्ने शिलशिलामा दर्ता नभई संचालन भएका, नविकरण नभएका, विषेश आयोजनाका लागि स्थापना भएका तर आयोजना सम्पन्न भईसकेका, एक प्रयोजनको लागि दर्ता भएको तर उद्देश्य विपरीत फरक वस्तु उत्पादन गरेका लगायतका मापदण्ड पुरा नगरेका क्रसर उद्योगलाई अर्को निर्णय नभएसम्म संचालनमा रोक लगाईएको जारी विज्ञप्तीमा उल्लेख छ ।
रोक लगाईएका क्रसर संचालन गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेसमेत विज्ञप्तीमा स्पष्ट लेखिएको छ । कानुनी मापदण्ड पुरा भएका संचालन गर्न मिल्ने उद्योगका दर्ता नविकरणलगायत बैधानिकता पुष्टि हुने कागजपत्रसहित संचालक जिल्ला प्रशासन कार्यालयमा यथाशिघ्र उपस्थित हुन आग्रह समेत गरिएको छ ।