देशलाई समृद्धि बनाउन एकताको जरुरी : डा.अहिराज
बुधबार, पुष २७, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, पुस २७ (फरकसमाचार) / देशलाई समृद्धि बनाउन एकताको जरुरी रहेको मधेस प्रदेशका निर्वतमान प्रदेश प्रमुख डा.राजेश अहिराजले बताएका छन् । ३०१औं पृथ्वी जयन्ती एवंम राष्ट्रिय एकता दिवसको पुर्व संन्ध्यामा मंगलबार आयोजित चियापान कार्यक्रममा डा. अहिराजले सो कुरा बताएका हुन् । एकता दिवसको अवसरमा बुधबार गुलरिया नगरपालिका–८ पृथ्वी पार्क स्थित आयोजित कार्यक्रमका मुख्य अथितीको रुपमा डा. अहिराज गुलरिया आएका छन् ।

नागरिक मुल समारोह समिति बर्दियाले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल धेरै सम्भावना बोकेको देश रहेको डा. अहिराजले बताए । अथाहा सम्भावना बोकेको देश आज गरिबी र विपन्नताको कारणले ८० लाख नेपाली देश छोड्न बाध्य छन् । यति सम्भावना रहेको देशका नागरिक सम्मान पुर्वक बाच्न पाएका छैनन । यी कुराको समाधान गर्न पृथ्वीनारायण शाहले दिएको दिव्य उपादेशलाई अवलम्बन गर्न डा.अहिराजले सुझाए ।

देशलाई पराराष्ट्र नीतिमा कसरी बलियो बनाउने, अर्थलाई कसरी बलियो बनाउने र छिमेकी राष्ट्रहरुसंगको सम्बन्ध कसरी राम्रो बनाउने दिव्य उपादेशमा रहेको सुनाए । तर,हामी बिच एकता नहुँदा हाम्रो देशले विकासमा पछि परेको छ । यदि हामी बिच एकता कायम भयो भने नेपाललाई समृद्धि बनाउन धेरै समय कुर्न नपर्ने डा. अहिराजले भनाई राखे । हामी बिच एकता मात्र भयो भने नेपाललाई समृद्धि बनाएर १० वर्षमा विदेशबाट श्रमिक मगाउनु पर्ने स्थिती सिर्जना हुने डा. अहिराजले दावी गरे ।

पृथ्वीनारायण शाहले देशलाई भौगोलिक रुपमा एकिकरण गर्नुभयो’डा.अहिराजले भने,‘तर नेपाली बिचको भावनात्मक एकिकरण गर्न हाम्रो काँधमा जिम्मेवारी छ ।’
नेपालीहरुको भुमि, भावना र भविष्य तीन वटै कुरा संकटमा रहेको डा. अहिराजले बताए । ‘त्यसलाई जोगाउनको लागि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दिएको मार्ग दर्शन काफी छ’ डा.अहिराजले भने,‘तर हामी बिचको बिमतीले हाम्रो तीन वटै कुरा संकटमा छ ।’

व्यक्ति जुनसुकै पार्टी वा विचारधाराको होस् कुनै आपत्ती छैन । तर, देश र राष्ट्रिय एकताको सवालमा, फरक विचारधाराको व्यक्ति भएपनि हामी बिच बिमती हुनु हुदैन । जो सच्चा देश भक्त छ त्यसले राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रति फरक सोच राख्न सक्दैन । जसले इतिहास विर्सिन्छ उसको भुगोल र भविष्य कहिले सुरक्षित हुन सक्दैन । त्यसैले इतिहासलाई सम्मान गर्न डा. अहिराजले आग्रहसमेत गरे ।

गुलरिया नगरपालिका–८ स्थित पृथ्वी पार्कमा बुधबार ३०१औं पृथ्वी जयन्ती एवंम राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित समारोहलाई डा.अहिराजले सम्बोधन गर्ने मुल समारोह समितिका अध्यक्ष कमल राज पौडेलले जानकारी दिए । गत वर्ष पृथ्बी जयन्तीको अवसरमा पृथ्वी पार्कमा पृथ्बी नारायण शाहको शालिक डा. अहिराजले अनावरण गरेका थिए । एकता दिवसको अवसरमा सरकारले बुधबार देशै भरि सार्वजनिक बिदाको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर