कास्की, पुस २९/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले दिउँसो १ बजे विश्वासको मत लिन कार्यसूची तय भएको छ ।
एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, मनाङेले विश्वासको मत भने अधिकारीलाई नदिने र प्रतिपक्षमा बस्ने बताएका छन् ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । नेपाली कांग्रेसलाई पनि पत्र पठाएर अधिकारीले विश्वासको मत दिन आग्रह गरेका थिए । कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ र विश्वासको मत नदिएर प्रतिपक्षीमा बस्ने कांग्रेस सांसद डिल्लीराम सुवेदीले बताए ।
मुख्यमन्त्री नियुक्त भएसँगै अधिकारीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । एमालेबाट सीता सुन्दास, मुख्यमन्त्रीको दाबेदारसमेत रहेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्च तमुलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका अधिकारीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तारको तयारी गरेका छन् । विश्वासको मत लिनुअघि अधिकारीले बिहीबार रोशन गाहामगरलाई प्रमुख सचेतक चयन गरेका छन् ।अनलाइनखबरबाट साभार