चितुवाले दिनहुँ बस्तीबाट घरपालुवा जनावर ओसार्दै
सोमबार, माघ ०९, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, माघ ०९ (फरकसमाचार)/ गुलरिया नगरपालिका –८ सर्जुनदी टपरा बस्तीमा पल्किएको चितुवाले दिनहुँ घर पालुवा जनावर ओसारी रहेको छ । बस्तीमा पल्किएको डमरुसहितको चितुवाले दिनहुँ जनावर बेपत्ता पारेको हो । सर्जुनदी टपरा बस्तीबाट करिब डेढ किलोमिटर मुर्तिहा जंगल छ । जंगल र बस्तीकोे बिचमा ठुलो उखुबारी छ । मुर्तिहा जंगलको चितुवाले नेपाली उखुबारीमा डमरु हुर्काइ रहेको स्थानीयको भनाई छ । बच्चा हुर्काउन जंगल छोडेको चितुवाले बस्तीमा आश्रित बनेको छ । चितुवाले बस्तीमा दिनहुँ आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । बस्ती नजिकै चितुवाको बास हुँदा स्थानीय खेतबारीमा जानसमेत डराइरहेका छन् ।

चितुवाले शुक्रबार र शनिबार राति लगातार दुई दिन देखि घरमा पालेको कुकुर लगेको इनताज मनिहारले बताए । ‘शुक्रबार राति घर पछाडि कुकुर एक पटक मात्र करायो’ मनिहारले भने,‘क्याँ गरेको कुकुरको अर्को पटक आवाजै आएन ।’ बिहान हेर्दा कुकुरलाई घिसारेको छाप भेटियो । परसम्म घिसारेको छाप छ । त्यसपछि कता लाग्यो खुल्न सकेन । त्यसैगरी शनिबार राति पनि बचेको अर्को कुकुरलाई चितुवाले लगेको मनिहारले सुनाए । लगातार दुई दिन देखि पालेको दुवै कुकुर चितुवाले लगेको छ । मनिहार टाँगा व्यवसायी हुन् । घर छेउमै रहेको गोठमा घोडा र गाई बाँधछन् । ‘घरमा दुई वटा कुकुर हुँदा राति अलि ढुक्क हुन्थे’ मनिहारले भने,‘अब घोडा र गाईलाई बचाउँन मुस्किल भयो ।’

एक महिना नपुग्दै बस्तीमा पसेर चितुवाले पाँच वटा भन्दा बढी घटना घटाएको स्थानीय अनुप कुमार गुप्ताले बताए । ‘बस्तीमा चितुवा पल्किएको छ’ गुप्ताले भने,‘अब घरपालुवा जनावर र बालबच्चालाई जोगाउन मुस्किल छ ।’

डमरुसहितको चितुवाले बस्तीबाट घरपालुवा जनावर ओसार्दै उखुबारीमा लगेको अधिकांश स्थानीयले अनुमान लगाएका छन् । बस्तीबाट चितुवाले गाईको बाछो, बाख्रा र कुकुर बेपत्ता पारेको छ ।

गत पुस १६ गते बाबुलाल धोबीको गाई खाएको थियो । चार दिन अघि बाँछोलाई उखुबारी तर्फ लगेको चितुवाले पाचौं दिनको रातको ११ बजे गाई मारेको थियो । घर पछाडि बाँधेको गाईलाई मारेर खाँदै गरेको अवस्थामा धोबीले ढुङगा मुढागरेपछि चितुवा भागेको थियो ।

माघ १ गते सोही टोलका पठानको बाख्रा चितुवाले खोरबाट तानेर लगेको थियो । साँझ ६ बजे चितुवा बस्ती पसेको थियो । भैंसीलाई मार्न चितुवाले गरेको दुई पटकको प्रयास असफल भएपछि लंलनको बाख्रालाई खोरबाट तानेर उखुबारी तर्फ डौडिएको थियो । यस अघि सोही टोलकी लक्ष्मी सुनारको खोरमा बाँधेको बाख्रा चितुवाले तानेर खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय