चितुवासँगको लुकामारी खेलमा आम सर्वसाधारण
मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित

चितुवा खोज्न डिभिजन वनको टोली परिचालन

राम प्रसाद चौहान

बर्दिया, माघ १० (फरकसमाचार)/ एक महिना अघि देखि गुलरिया नगरपालिका–८ मा पर्ने सर्जुनदी टपरा बस्ती त्राहीत्राही छ । बस्तीका मानिसको दिनमा भोक र रातीमा निन्द्रा हराएको छ । दिन दिनै हुने चितुवा आक्रमणबाट घाटा व्यहोरेका स्थानीय बिलखबन्दमा परेका छन् । दिनदिनै आफुले पालेको बाख्रा, कुकुर, गाई गुमाउँदाको पीडा झन् बल्झिदो छ । एक महिना पछि वन डिभिजनको टोलीसँग सोमबार दिउँस चितुवा खोज्न स्थानीय व्यस्त भए । वन डिभिजनको टोलीले क्यामरा राख्ने बाचा गरेर फर्केका कारण चितुवा समात्लान् भने आशाको त्यान्द्रो स्थानीयसँग मात्र बाँकी छ ।

गुलरिया ८ टपरामा पल्किएको चितुवालाई नियन्त्रणमा लिने प्रक्रियामा रहेको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताएका छन् । चितुवालाई नियन्त्रणमा लिन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषसंग निरन्तर समन्वय गरिरहेको प्रमुख बिडारीले बताएका हुन् । ‘चितुवालाई डार्ट गर्ने वा नियन्त्रण गर्ने दक्ष जनशक्ति वन कार्यालयमा छैन’ प्रमुख बिडारीले भने,‘नियन्त्रणमा लिन प्राविधिक टोली निकुञ्ज वा राष्ट्रिय प्रकृति कोषसंग समन्वय गरेर उपलब्ध हुन्छ ।’

गुलरिया नगरपालिका–८ को घटनालाई नजिकबाट हेरेको छु । चितुवालाई तत्काल नियन्त्रण गर्न कदम चालेको प्रमुख बिडारीले सुनाए । राष्ट्रिय प्रकृति कोषको प्राविधिक टोली दैलेखमा छ । त्यसैले मंगलबार देखि सो स्थानमा क्यामरा जडान हुनेछ । क्यामरामा ट्रयाप भएको चितुवाको अध्ययन गरि तत्काल नियन्त्रण गरि निकुञ्ज क्षेत्रमा लगेर व्यवस्थापन गरिने डिभिजन वन कार्यालयका प्रमुख बिडारीले जानकारी दिए ।

त्रसित स्थानीयको पिडालाई प्राथमिकतामा राखी फरकसमाचार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन भएको समाचारले सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ । डिभिजन वन कार्यालयले स्थलगत रिपोटिङको लागि सोमबार ५ जनालाई खटाएको छ । डिभिजन वन कार्यालयका जमदार धन बहादुर गुरुङ र बलराम थारु त्यसैगरी वन रक्षक बल बहादुर थापा, भुपेन्द्र शाही र धर्म चौधरीले चितुवाको मुभमेन्टलाई सोमबार स्थलगत अध्ययन गरेका छन् ।

विगत एक महिना देखि चितुवाले बस्तीमा रहेका घरपालुवा जनावरलाई शिकार बनाएको छ । बस्तीमा पल्किएको चितुवाको आतंकले स्थानीय त्रसित भएका छन् । चितुवाले बस्तीमा आक्रमण गरि धमाधम घरपालुवा जनावर लाग्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्नु पर्ने बाध्यता छ । माघ १ गते बस्तीमा प्रवेश गरेको चितुवाले दुई पटक भैंसीलाई आक्रमण गर्न खोजेपछि भैंसी बचाउन सोनापति लोधले आफन्तको घर आशापुर पठाउन बाध्य भएकी छिन् ।

घरपालुवा जनावर र बालबच्चा जोगाउन मुस्किल भएको बताएका छन् । शुक्रबार र शनिबार इनताज मनिहारको घरबाट लगातार दुई वटा कुकुर मारेको छ । घर छेउमै बाँधिएको घोडा र गाईलाई आइतबार राति आक्रमण गर्न खोजेको मनिहारले बताए । ‘दिनहुँ चितुवाको आक्रमणले बाहिर निस्कन डर लाग्छ’ मनिहारले भने,‘अब पालेको जनावरलाई धेरै खतरा भयो ।’

गत पुस १६ गते बाबुलाल धोबीको गाई खाएको थियो । चार दिन अघि बाँछोलाई उखुबारी तर्फ लगेको चितुवाले पाचौं दिनको रातको ११ बजे गाई मारेको थियो । घर पछाडि बाँधेको गाईलाई मारेर खाँदै गरेको अवस्थामा धोबीले ढुङगा मुढागरेपछि चितुवा भागेको थियो । माघ १ गते सोही टोलका लंलन पठानको बाख्रा चितुवाले खोरबाट तानेर लगेको थियो । साँझ ६ बजे चितुवा बस्ती पसेको थियो । भैंसीलाई मार्न चितुवाले गरेको दुई पटकको प्रयास असफल भएपछि लंलनको बाख्रालाई खोरबाट तानेर उखुबारी तर्फ डौडिएको थियो । यस अघि सोही टोलकी लक्ष्मी सुनारको खोरमा बाँधेको बाख्रा चितुवाले तानेर खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय