कृष्णसारको हावामै तीन छलाङ
आइतबार, माघ १५, २०७९ मा प्रकाशित

बर्दिया, माघ १५ / सात सय ८ बिघा क्षेत्रफलको चौर शान्त छ। मनोरम छ। कृष्णसार चरिचरन गर्ने चौरमा ३२ प्रजातिका रुखसहित १०९ प्रजातिका वनस्पतिको संगम आर्कषक देखिन्छ। लोभ लाग्दो घाँसे मैदानले सुन्दरता थपेको छ। आहा ? कति राम्रो प्रकृतिको उपहार। चौरको बीचबीचमा चरिरहेको कृष्णसारको बथानको दृश्यले ऊर्जा मिल्छ। प्राकृतिक वातावरणमा रमाउने कृष्णसार प्रशस्त छन्। तर, त्यो ठाउँ कहाँ पर्छ। खैरापुर संरक्षण क्षेत्र चिनाउन नसक्दा ओझेलमा परेको छ।

खुला चौरमा एउटा होइन, दुइटा होइन, दर्जनौं कृष्णसार भेटिन्छन्। एउटा भालेका पछि दर्जनौ पोथी कृष्णसार देखिन्छन्। कृष्णसारको लुक्स मृग प्रजातिसँग मिल्छ। सोझो वन्यजन्तु कृष्णसारको स्वभाव डराउने खालको हुन्छ। त्यसैले मानिस साहरा लिएर बस्न रुचाउँछ। यसैमा खैरापुरमा रहेको एक मात्र प्राकृतिक वासस्थानमा कृष्णसार बाँचिरहेका छन्।

कृष्णसार हेर्दा असाध्य मायालु देखिन्छन्। टिठ लाग्दा देखिने कृष्णसारको कमजोर पक्ष डरपोक हुनु हो। भालेको सहारामा उनीहरूको दिनचर्या चल्छ। भालेले उनीहरूको रखवाल गर्छ। भालेको उपस्थितिमा मात्र पोथी कृष्णसार चर्छन्। भाले घरिघरि यताउता आँखा डुलाइरहँदा पोथीले सुरक्षित ठान्छन् र बल्ल चर्न थाल्छन्। खैरापुरको खुला चौरसम्म पुग्ने आँखाले भ्याएसम्म देखिने भूगोलमा कृष्णसार खोज्न आँखा डुलाइरहेका हुन्छन्।

सदरमुकाम गुलरियादेखि ६ किलोमिटर पश्चिममा रहेको कृष्णसार संरक्षण क्षेत्र नडुली अघि बढ्न मन मान्दैन। खैरापुरमा होमस्टे खोल्ने पनि छन्। होमस्टे शुद्ध शाकाहारी छन्। अलि पर स्वादिष्ठ लेग पिसको चर्चा कमाएका आधा दर्जन रिसोर्ट छन्। चिया र खाजा खानका लागि खैरापुर बजारमा पसल छन्। एकदुई दिन बसेर कृष्णसार अवलोकन गर्नका लागि दश करोड बढी लगानीमा कृष्णसार रिसोर्ट पनि छ। सडक विस्तारसँगै काँचुली फेरेको बर्दियामा सहज बसबाट यात्रा गर्न सकिन्छ। टाँगा र रिक्सा कृष्णसार संरक्षण क्षेत्रसम्म पुग्न सहज रूपमा पाइने साधन हुन्।

बर्दिया पुग्ने पर्यटक कृष्णसार संरक्षण क्षेत्र पुग्छन्। कृष्णसारलाई कृष्ण भगवान्को अवतारका रूपमा चिनिँदा सरक्षण क्षेत्रको धार्मिक महŒव छुट्टै छ। त्यसमा कृष्णसारको छलाङ हेर्न रुचाउने बढी छन्।

कृष्णसारसँग विशेष क्षमता छ। मृग प्रजातिमा कृष्णसारको विशेष क्षमता कसैसँग मिल्दोजुल्दो छैन। कृष्णसार खतरा महसुस गरेर भाग्न परेमा हावामा पटक पटक छलाङ लगाउन सक्ने अदभुत कलाले भरिपूर्ण छ। अति डराउने वन्यजन्तु झस्याङ्ग हुनेबित्तिकै कुदिहाल्छ र छलाङ लगाउन सुरु गर्छ। पर्यटक कृष्णसारले लगाएको छलाङ देखेर भुल्छन्।

‘कृष्णसार कुदेको हेर्ने कसको मन हुन्न र ? कुदाइ हेर्न कुरेर बस्छन् पर्यटक,’ संरक्षण क्षेत्रका प्रमुख विनयकुमार झा भन्छन्, ‘अद्भुत शक्तिको बखान गरेर साध्य छैन। हावामै छलाङ कृष्णसारले मात्र लगाउन सक्छ।’

श्रीकृष्ण भगवान्को अवतार मानिएको कृष्णसार धार्मिक रूपले मानिससँग जोडिएको छ। कृष्णसार संरक्षण क्षेत्र वरपर मिश्रित बसोबास छ। मधेसी समुदायको बाहुल्य समाज धार्मिक आस्था राख्छ। कृष्णसारलाई भगवान् सम्झेर कृष्णसारको रेखदेखमा समुदाय सक्रिय छ। भगवान्को अवतारका रूपमै समुदायले मान्दै आएकाले संरक्षण सहज भएको छ।

२०३१ सालमा बर्दिया वन्यजन्तु आरक्ष घोषणासँगै कृष्णसारको संरक्षणका लागि खोजतलास गरिएको थियो। देशबाट लोप भइसकेको कृष्णसार बर्दियाको खैरापुरको खुला चौरमा ९ वटा भेटिएका थिए। त्यसमा एउटा वयस्क भाले, चार पोथी र चार बच्चा फेला परेका थिए। बस्तीनजिक भेटिएका कृष्णसार गाई, भैंसी, बाख्रासँगै चर्न रुचाउने स्वभावका थिए। दुबो, घाँस, काँसमा खान र बस्न कृष्णसारले रुचाउँछन्। त्यतिबेला वन कार्यालयले चारजना सशस्त्र गार्ड राखेर संरक्षण सुरु गरेको थियो। २०६५ सालमा कृष्णसार संरक्षण क्षेत्र घोषणासँगै कृष्णसार संरक्षण कार्य भइरहेको छ। कृष्णसारको संख्या दैनिक अद्यावधिक गरिन्छ। कृष्णसारको संरक्षण २०३२ सालमा प्राकृतिक अवस्थामा ९ वटा कृष्णसार भेटिएपछि संरक्षण स्थानीयले सुरु गरेका थिए। अहिले १२२ पोथी र ४४ भाले कृष्णसार छन्। माघ महिनादेखि गर्भधारण गर्ने तयारीमा कृष्णसार छन्। दुई वर्षभित्र गर्भधारण हुने कृष्णसारले एउटा मात्र बच्चा जन्माउँछ ।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय