लागु औषधसहित पाँच जना पक्राउ
बिहिबार, माघ १९, २०७९ मा प्रकाशित

बर्दिया, माघ १९ (फरकसमाचार) / लागु औषध ब्राउनसुगरसहित प्रहरीले एकैदिन पाँच जनालाई नियन्त्रणमा लिन सफल भएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागु औषधसहित मंगलबार पाँच जनालाई नियन्त्रणमा लिएको हो । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट पाँचै जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिईएको जनाईएको छ ।

शंकास्पद रुपमा रहेका पाँच जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लागुऔषधसहित एकैदिन पाँच जनालाई पक्राउ गरेको तथ्य सार्वजनिक गर्दा सिमावर्ती भारतीय बजारमा लागुऔषधको सहजै कारोबार भईरहेको बुझ्न सकिन्छ । सिमावर्ती भारतीय बजारमा लागु औषध सजिलै पाउने हुँदा लागु औषधका सेवन कर्ता सिमावर्ती भारतीय बजार तर्फ जाने गरेका अधिकांश स्थानीयको भनाई छ ।

बढैयाताल गाउँपालिका –६ का १८ वर्षिय बबिस श्रेष्ठलाई प्रहरीले समातेको छ । ६ सय १० मिलिग्राम लागु औषध ब्राउनसुगर प्लाष्टिकमा राखेको अवस्थामा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । बाँसगढी नगरपालिका–२ का ३५ वर्षिय बिशाल बुढा मगरलाई ३ सय १० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

बढैयाताल गाउँपालिका–६ का १८ वर्षिय अमिर सल्मानीको साथबाट ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । त्यसैगरी बढैयाताल गाउँपालिका–६ का २२ वर्षिय सद्दाम हुसेनको साथबाट ४० मिलिग्राम ब्राउनसुगर भेटिएको छ । हुसेनकोसाथमा रहेका भारतीय नागरिकसमेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला बहराईच थाना मोतिपुर ग्राम मटेहीका ३५ वर्षिय इद्रिस खानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय