बर्दिया अस्पतालमा शुरुकै दिनमा तीन जनाको आङ खस्ने समस्याको सफल अप्रेशन
सोमबार, माघ २३, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, माघ २३ (फरकसमाचार) / बर्दिया अस्पतालले पहिलो पटक आङ खस्ने समस्याको सफल अप्रेशन गरेको छ । अस्पतालले शुरुको दिनमा तीन जना महिलाहरुको आङ खस्ने समस्याको सफल अप्रेशन गरेको हो । सिमित स्रोत साधनको बाबजुद अस्पतालले पहिलो पटक आङ खस्ने समस्याको अप्रेशन सेवा शुरु गरेको छ । अस्पतालमा अन्य अप्रेशन सेवा उपलब्ध भएपनि महिलाहरुको आङ खस्ने समस्याको अप्रेशन सेवा थिएन ।

जसले गर्दा यी समस्याले पिडित बिरामी अन्य जिल्लामा भौतारिनु पर्ने स्थिती रहेको थियो । अस्पतालले दक्ष जनशक्तिको उपस्थितीमा महिलाहरुको आङ खस्ने समस्याको अप्रेशन गर्न शुरु गरेको छ । जुन जिल्लाबासीको लागि सुखद रहेको छ । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. राम विश्वास रायको नेतृत्वमा अस्पतालले शनिबार एकै दिन तीन जनाको सफल अप्रेशन गरेको छ । गुलरिया नगरपालिकाका एक र मधुवन नगरपालिकाका दुई जनाले सेवा लिएका छन् । एक जनाले निशुल्क कार्यक्रमबाट र दुई जनाले बिमा मार्फत सेवा लिएको जनाईएको छ ।

आफ्नै ठाउँको अस्पतालमा दिदिको अप्रेशन गराउँन पाउँदा हामीलाई धेरै सहज भएको मधुवनकी बजरिया थारुले बताईन् । ‘बिना खर्चमा अस्पतालले सेवा दिएको छ’ उनले भनिन्, ‘अस्पतालमा आङ खस्ने समस्याको अप्रेशन सेवा सुचारु भएर हामी खर्चबाट जोगियौं ।’

आङ खस्ने समस्याबाट ग्रसित महिलाहरु अब अन्य जिल्लामा गएर सेवा लिने बाध्यता हटेको अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेयले बताए । ‘अस्पतालले सबै किसिमका बिरामीलाई प्रभावकारी सेवा दिन तत्पर रहेको छ’ बरिष्ठ मेसु डा.पाण्डेयले भने, ‘आङ खस्ने समस्याको अप्रेशन सेवा अस्पतालबाट शुरु गरेर आत्मसन्तुष्टी मिलेको छ ।’ स्त्री रोग विशेषज्ञद्वारा महिलाहरुको आङ खस्ने समस्याको अप्रेशन निरन्तर हुनेछ ।

यस्ता बिरामीले अस्पतालको कोठा नंम्बर ७ मा सम्पर्क गर्न सक्छन् । आङ खस्ने समस्याको अप्रेशन गर्न आँधा शरीर मात्र लठ्याउन पर्छ । जुन जनशक्ति हामीसंग छ । यो भन्दा ठुलो अप्रेशन गर्न परे पुरै शरीर लठ्याउन पर्छ । जसको लागि लठ्याउने मेसिनको आवश्यक पर्छ । अस्पतालमा मेसिन उपलब्ध गराउन आफुले कसरत गरिरहेको बरिष्ठ मेसु डा.पाण्डेले जानकारी दिए ।

अस्पतालमा आफुले काम गरेको छ महिनाको अवधिमा आङ खस्ने समस्याबाट पिडित बिरामी धेरै पाएको प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. राम विश्वास रायले बताए । ‘जसको उपचारको लागि उहाँहरुलाई बाहिर जानुपरेको थियो’ स्त्री रोग विशेषज्ञ डा.रायले भने,‘उपचार गराउन बाहिर जाँदा बिरामीलाई आर्थिक भार बढी पर्नु लगायतको अप्ठ्यारो थियो ।’ जसलाई मध्यनजर गरेर आङ खस्ने समस्याको अप्रेशन सेवा अस्पतालमा शुरुवात गरिएको छ ।

‘अस्पतालको इतिहासमा पहिलो पटक महिलाहरुको पाठेघर निकाल्ने अप्रेशनमा सफल भएका छौं’ स्त्री रोग विशेषज्ञ डा.रायले भने,‘यो कार्यले अस्पताल परिवारमा थप उर्जा थपेको छ ।’ यो कार्यमा सघाउने डा.सामिनी, ओटीका राजेश वर्मा, नर्सिङका इन्चार्ज पुजा बडवाललगायत अस्पतालका सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरे । साथै नेपालगंज मेडिकल कलेज कोहलपुरबाट सहयोग गर्न आएका बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.कबिता सिन्हा पाण्डेय, डा.ओमनाथ अधिकारी र बेहोस गर्ने सम्बन्धि विशेषज्ञ डा. शिशिर खड्कालाईसमेत स्त्री रोग विशेषज्ञ डा. रायले धन्यवाद व्यक्त गरेका छन् ।

त्यसैगरी अस्पतालले एमसिएच शाखाबाट दिने सेवाहरुमा समाबेस गरि अघिल्लो महिनाबाट निःशुल्क रुपमा स्थायी बन्ध्याकरण गर्दै आएको छ । बन्ध्याकरण गर्ने महिला/पुरुषलाई नेपाल सरकारले तोके बमोजिमको खाजा खर्चसमेत अस्पतालले उपलब्ध गराउदै आएको छ । हालसम्म एक जना पुरुष र ४ जना महिला गरी पाँच जनाले सेवा लिईसकेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय