बिमा पाउन गाडीमा आगजनी
मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित

बर्दिया, फागुन २ (फरकसमाचार) / बिमा दाबी गर्ने मनसायले गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले चालकलाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–२ गंगापटुवा बस्ने रामु चौधरीलाई प्रहरीले सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

मधुवन नगरपालिका–४ बसन्ता स्थित माचड चोक देखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडीमा आगजनी भई नष्ट भएको छ । चालक चौधरीमाथि गाडी जलाएको आरोप छ ।

बिग्रेको गाडी मर्मत गर्न बढी खर्च लाग्ने भएपछि चालकले बिमा दाबी गर्नको लागि आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गाडीमा आगजनी भएको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तर त्यतिबेलासम्म गाडी पुर्ण रुपमा जलेर नष्ट भईसकेको जनाईएको छ । घटनास्थलमा कोही पनि थिएन । प्रहरीले सोधपुछ गरि चालक चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

गत माघ २० गते फोर्स गाडी बिग्रिएर मर्मतको लागि ग्यारेजमा लगिएको थियो । मर्मत गर्न बढी खर्च लाग्नेभएपछि बिमा दाबी गर्ने मनसायले गाडीमा चालकले आगजनी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बिग्रेको गाडी जलाउने उदेश्यले आइतबार राति ८ बजे अन्य गाडीको सहयोग लिई टोचन गरि बसन्ता स्थित एकान्त ठाउँमा पु¥याईएको बुझिएको छ । चालक चौधरीले राति २ बजे डिजल छर्की आगो लगाई घटनास्थलबाट घर गएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले चालक चौधरीलाई नियन्त्रणमा लिई ठगी मुद्दामा कारवाही अघि बढेको एसपी सुधिर राज शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय