रुबीको अपील : हामी रहेनौं भने न्यायको आन्दोलन बचाइदिनुहोला
बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित

काठमाडौं, फागुन ३ / महिला अधिकारकर्मी रुबी खानले आफूहरुको ज्यानको जोखिम बढेको बताएकी छन् । सरकारसँग सहमति भएपछि आन्दोलन स्थगित गरेकी उनले आफूहरुलाई जुनसुकै बेला जे पनि हुनसक्ने बताइन् ।

निर्मला कुर्मीको हत्या गरेको आरोप लागेका बादशाह कुर्मीले आफूहरुलाई मार्न ५/५ लाख रुपैयाँको सुपारी दिएको भन्दै उनले भनिन्, ‘यदि हामी रहेनौं भने यो न्यायको आन्दोलनलाई तपाईंहरुले बचाइदिनुहोला ।’

सम्पत्तिकै लागि निर्मला कुर्मीको परिवार सखाप पारेको भन्दै रुबी र उनको समूह आन्दोलनमा थियो । निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धान गर्न माग्दै ४८ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा रुबी खानसहित महिला अधिकारकर्मीहरु अनसनमा बसेका थिए । मंगलबार उनीहरू र गृह मन्त्रालयबीच ३ बुँदे सहमति भएको थियो ।

बाँकेको नेपालगञ्ज उपमहागरपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । श्रीमानको मृत्युको चार वर्षपछि कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा ०६६ मंसिरमा रहस्यमय तवरमा मृत्यु भयो ।

श्रीमान र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए । ०७५ मा निर्मला कुर्मी बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारियो । अपहरण पछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरी समेत परेको छ ।

कुर्मी हत्या छानबिन गर्न गृहमन्त्रालयका सचिव हिरालाल रेग्मीको नेतृत्वमा बनेको समितिले १४ कात्तिक ०७८ मा बादशाह कुर्मी दोषी देखिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने निर्क्यौलसहितको प्रतिवेदन तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको थियो । यो प्रतिवेदनपछि बादशाह सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी समेत परेको छ । सांसद कुर्मी भने भदौ ०७८ देखि नै हाजिरी जमानीमा छन् । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर