मठ मन्दिरमा महाशिवरात्री पर्वको रमाईलो
आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित

बर्दिया, फागुन ७ (फरकसमाचार) / जिल्ला स्थित मठ मन्दिरमा महाशिवरात्री पर्व धुमधामका साथ मनाईएको छ । गुलरिया नगरपालिका–७ मा अवस्थित बगलामुखी मन्दिरलगायत जिल्लाका शिव मन्दिरहरुमा भक्तालुहरुले पुजापाठ गरि धुमधामका साथ मनाएका हुन् । यसैगरि बासगढी नगरपालिका ८ स्थित बिशेश्वर मन्दिरमा पूजा अर्चना भएको छ । बिहानको समयमा लघुरुद्रि लगायत पूजा पाठ गरिएको थियो भने दिउँस प्रसाद वितरणको कार्यक्रम आयोजना गरिएको हो । शनिबार बिहानै देखि शिव मन्दिरहरुमा भक्तालुहरुको घुँईचो लागेको थियो ।

स्थानीयहरुको सक्रियतामा महाशिवरात्री पर्व धुमधामकासाथ मनाईएको बगलामुखी मन्दिर पर्व व्यवस्थापन समितिका संयोजक बिष्णु अधिकारीले बताए । ‘प्रत्येक वर्ष जस्तै यस वर्ष पनि महाशिवरात्री पर्व धुमधाम मनाईएको छ’ संयोजक अधिकारीले भने, ‘बगलामुखी मन्दिरमा ब्राहमणद्वारा लघु रुद्री पाठ, प्रसाद वितरण, साँझ ७ बजे ध्वनी जागरण तथा शिव उत्सव र भजन किर्तन गरि महाशिवरात्री पर्व मनाईएको छ ।’

बाँसगढी नगरपालिकामा रहेको ओम केदारेश्वरधाम पनि भक्तालुहरुको रोजाईमा परेको छ । शनिबार उक्त धाममा पनि भक्तालुहरुको बिहानै देखि बाक्लो उपस्थिती रहेको थियो ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । यस पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघमा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको भन्ने भनाइ पनि छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन शनिबार भक्तजनले शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बसी भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर