दाईको हत्या आरोपमा भाई पक्राउ
शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, फागुन १२ (फरकसमाचार) / दाईको हत्या गरेको आरोपमा प्रहरीले भाईलाई नियन्त्रणमा लिएको छ । गेरुवा गाउँपालिका–१ का ३१ वर्षिय सिता राम थारुलाई प्रहरीले पक्राउ गरेको हो । निरन्तर चार वर्षको मेहनतले घटनामा संलग्न दोषीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । यो जिल्लावासीको लागि सुखद सन्देश हो ।

घटना यस्तो घटेको थियो । ०७५ साल मंसिर २७ गते गाउँमा विवाह थियो । गेरुवा गाउँपालिका–१ का ३५ वर्षिय राम बहादुर थारु विवाहमा गएका थिए भने भाई सिताराम थारु गएनन् । विवाहबाट दाई राति ११ बजे एक्लै घर फर्किदै थिए । पुर्व रिसिवीका कारण एक्लै फर्किदै गरेका दाईलाई पछाडिबाट दाउराको चिर्पटाले टाउकोमा प्रहार गरे । दायाँ कान पछाडि चोट लागि दाई कुलोको ढिक किनारमा शख्त घाईते अवस्थामा फेला परे ।

घाईते अवस्थामा भेटिएका थारुको उपचारको लागि काठमाडौं मेडिकल कलेज टिचिङ अस्पताल सिनामंगलबाट २०७६ साल बैशाख ६ गत घरमा ल्याएको दिनमा मृत्यु भयो । मृतकको छोरीले ईलाका प्रहरी कार्यालय पाताभारमा फुटकर ज्यान सम्बन्धि मुद्दा शिर्षकमा २०७६ साल बैशाख २४ गते जाहेरी दरखास्त दिईन् । घटनाको प्रकृति शंकास्पद रहेको थियो ।

जमिनको विषयमा झगडा र मृतकले भाईको जमिनमा सामुदायिक वनबाट काठ ल्याई लुकाई छिपाई राख्दा वनका कर्मचारीले भाईसंग जरिवाना तिराएको विषयमा दुबै भाई बिच बोलचाल थिएन ।

प्रहरीले अनुसन्धानकै क्रममा मृतकको भाईको घटनामा संलग्नता भएको शंका ग¥यो । प्रहरीले लामो समयको निरन्तर अनुसन्धानले भाईलाई नियन्त्रणमा लिन सफल भयो । फरार भाईलाई प्रहरीले गत माघ १६ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले मृतको भाई सिताराम थारुसंग बयान लिने क्रममा दाईलाई २०७५ साल मंसिर २७ गते राति चिर्पट दाउराले हानेर घाईते बनाएको स्विकार गरेका छन् ।

शुरुमा घटनाको बारेमा परिवारले कुनै जानकारी नदिदाँ सामान्य घटना बुझिएको एसपी सुधिर राज शाहीले बताए । ‘प्रहरीले दुई वर्षपछि पुरानो फाईल पल्टाउँदा अलिकति शंका लाग्यो’ एसपी शाहीले भने,‘ शंका लाग्ने बित्तिकै फुटकर ज्यान सम्बन्धि मुद्दालाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा परिणत गरि सुक्ष्म अनुसन्धान शुरु ग¥यौं ।’ घटना घटाएर भाई भारततर्फ भागिसकेका थिए । ईलाका प्रहरी कार्यालय पाताभार टिमको निरन्तर फलोअपले दोषीलाई नियन्त्रणमा लिईएको छ ।

फरार रहेका दोषीलाई नियन्त्रणमा लिई सजायको भागीदार बनाएर पिडितलाई न्याय दिलाउने काममा प्रहरी रातदिन लागिरहेको एसपी शाहीले जनाए ।
प्रहरीले थारुलाई बिहीबार कारवाहीको लागि जिल्ला अदालतमा बुझाएको डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय